काठमाडौँ,माघ ८ –
कलाकार तथा पत्रकारको सक्रियतामा स्थापित सार्थक नेपालको अगुवाईमा शान्तिनगरस्थित निःसहाय सेवा सदनमा बस्दै आएका ४२ जना ज्येष्ठ नागरिकलाई आज यहाँ आयोजित कार्यक्रममा सम्मान गरिएको छ ।
संस्थाका अध्यक्ष एवम् चलचित्र निर्मात्री एवम् नायिका जेनी कुँवरले सेवा सदनका संस्थापक अध्यक्ष सगुन शाह र कलाकार यमन श्रेष्ठसहित उनीहरुलाई दोसल्ला र प्रमाणपत्रले सम्मान गर्नुभयो ।
सो अवसरमा नेपाल–भारत मैत्री अस्पतालका अध्यक्ष डा श्याम खड्काले सदनमा बस्दै आएका सबै ज्येष्ठ नागरिक एवम् सार्थकमा संलग्न सबैलाई निःशुल्क उपचार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
संस्थाको शुक्रबारदेखि विधिवतरुपमा नयाँ पदाधिकारीसहित कार्यसमिति चयन गरेको छ । संस्थाको अध्यक्षमा जेनी कुँवर, उपाध्यक्षमा कलाकार तथा सञ्चारकर्मी राजेन्द्र लुईंटेल, महासचिव सञ्चारकर्मी, गीतकार तथा निर्देशक मनोजकुमार थापा, सचिव गायिका तथा सञ्चारकर्मी योजना पुरी, कोषाध्यक्ष गायक तथा सञ्चारकर्मी रामकृष्ण श्रेष्ठ, सह–कोषाध्यक्ष नायिका जान्वी बोहरा रहनु भएको छ ।
त्यसैगरी कार्यसमिति सदस्यहरु गायक तथा सङ्गीतकार सुरेन्द्र श्रेष्ठ, मोडल तथा सञ्चारकर्मी कुशल खत्री, नायिका तथा मोडल मञ्जिता केसी, सञ्चारकर्मी निलम पौडेल, सलिना आचार्य हुनुहुन्छ । उक्त कार्यक्रममा निःसहाय सदनमा आश्रित आमाबुबालाई संस्थाले भोजन गराएको थियो ।
संस्थाकी अध्यक्ष कुँवरले सबैसँग सहकार्य गरेर सामाजिक कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै पत्रकार र कलाकारको सम्बन्ध नङ र मासुको जस्तो भएकाले यसलाई अझ प्रगाढ बनाउने बताउनुभयो । -रासस