काठमाडौं,माघ ५ –
भारतबाट आयातीत २० मेगावाट बिजुली पहिलोपटक काठमाडौं उपत्यकामा भित्रिएको छ ।प्रशारण लाइनको अभावमा भारतबाट नेपालले विभिन्न नाका हुँदै ३ सय ५० मेगावाट विद्युत् आयात गरिरहे पनि पहिलोपटक मंगलबार साँझ ६ः०२ बजे राजधानी काठमाडौंमा भित्रिएको हो ।
२२० केभीको खिम्ती–ढल्केबर प्रशारणलाइन निर्माण सम्पन्न भएपछि ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रशारण लाइनमार्फत यो बिजुली आएको हो ।भारतबाट आयातीत १ सय २० मेगावाट बिजुलीमध्ये २० मेगावाट काठमाडौ आएको विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए ।
‘पहिलोपटक भारतबाट आयातीत बिजुली काठमाडौं भित्रिएको छ, यसले यहाँको लोडसेडिङमुक्त अभियानलाई सफल बनाउन ठूलो सहयोग गर्नेछ,’ उनले भने । यो बिजुली आयात भएसँगै काठमाडौंको लोड व्यवस्थापनमा सहज भएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार हाल काठमाडौं उपत्यकामा ३ सय २५ मेगावाट बराबरको माग रहेकोमा ९२ मेगावाटको कुलेखानी जलाशयबाहेक अधिकांश नदी प्रवाहमा आधारित (आरओआर) आयोजना छन् ।
सुख्खा याममा यस्ता आयोजनाहरूको विद्युत् उत्पादन घटेर ४५ प्रतिशतमा झरेकोले लोड व्यवस्थापनमा ठूलो समस्या परेको छ ।१५ वर्षअघि निर्माण प्रक्रिया सुरु गरेर सन् २००९ भित्रै सम्पन्न हुनुपर्ने खिम्ती ढल्केबर प्रशारणलाइन बनेपछि १ सय ३२ केभीको लामोसाँघु–भक्तपुर प्रशारण लाइनमार्फत बिजुली काठमाडौ भित्रिएको प्राधिकरणले जनाएको छ ।
विभिन्न १० नाकाबाट नेपालले विद्युत् आयात गर्दै आए पनि ढल्केबरमा आएको बिजुली हेटौडा–कुलेखानी–स्युचाटार र खिम्ती–ढल्केबर प्रशारण लाइनमार्फत मात्र काठमाडौंमा बिजुली आयात हुनसक्ने अवस्था छ ।
माघको दोस्रो साता (फेब्रुअरी)देखि भारतबाट ४० मेगावाट थपिएपछि खिम्ती–ढल्केबर प्रशारण लाइनमार्फत ७० देखि ९० मेगावाटसम्म बिजुली काठमाडौं ल्याउन सकिने प्राधिकरणका प्रवक्ता अधिकारीले जानकारी दिए ।
यो प्रशारणलाइन बनेपछि ६० मेगावाटको खिम्ती र आसपासबाट आयोजनाका साथै दोलखा र रामेछाप क्षेत्रमा निर्माणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी लगायतका आयोजनाबाट उत्पादन हुने बिजुली ढल्केबर क्षेत्रमा पुर्याउन पनि सहज भएको छ ।
विश्व बैंकको सहयोगमा निर्माण भएको खिम्ती–ढल्केबर प्रशारण लाइनअन्तर्गत सिन्धुली क्षेत्रमा स्थानीयवासीले मुआब्जा लगायतका माग गर्दै विरोध गरेपछि आयोजना निर्माणमा ढिलाई हुँदै आएको थियो ।
प्रशारणलाइन नबन्दा २ सय ५० किलोमिटरको लामो दूरी पार गर्दै काठमाडौ–चितवन हुँदै पूर्व क्षेत्रको ढल्केबरमा विद्युत् प्रवाह गर्नुपर्ने वाध्यता प्राधिकरणको थियो ।
यही कारण दैनिक १० मेगावाट विद्युत चुहावट समेत भएको थियो भने बर्षामा सिप्रिङखोला जलविद्युत् आयोजनामा उत्पादित विद्युत् खेर जाने अवस्था थियो ।
यसका कारण प्राधिकरणले बर्सेनि एक अर्ब रुपैयाँभन्दा बढी घाटा बेहोर्नुपरेको परेको थियो भने लोडसेडिङ समेत बढाउनुपर्ने वाध्यता थियो । यो प्रसारणलाइन बनेपछि ७५ किलोमिटरमै ढल्केवर पुर्याउन सहज भएको छ । काराेबार दैनिकमा भीम गौतमले खबर लेखेका छन् ।