चितवन , माघ ५
नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत चण्डिभन्ज्याङ ५ कालिखोलामा गएराती एउटा ट्याङ्कर त्रिशुलीमा खसेको छ । काठमाडौबाट बारातर्फ जाँदै गरेको ना ४ ख ४१४३ नम्बरको पेट्रोल बोक्ने खाली ट्याङकर गएराती पौने १२ बजेतिर त्रिशुली नदिमा खसेको हो । ट्याङकर र ट्याङकर चालक बारा जिल्ला अमलेखगन्ज निवासी उमेश तामाङ नदिमा बेपत्ता भएका छन् ।
ट्याङकरका सहचालक अमलेखगन्जकै प्रदिप लामा भने पौडी खेलेर बाच्न सफल भएका छन् ।दुर्घटना परि उनको खुट्टा भाचिएको र भरतपुरको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बसलाई ओवरटेक गर्ने क्रममा ट्याङकर त्रिशुलीमा खसेको प्रारम्भिक अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दिपक थापाले जानकारी दिनुभयो । नेपाल प्रहरी र सशस्त्र प्रहरीले रातीदेखि नै ट्याङकर चालक र ट्याङकरको खोजीकार्य गरिरहेको थापाले बताउनुभयो ।