काठमाडौं,माघ ३-
नेपालमा पहिलोपटक जोखिमयुक्त पहिरो न्यूनीकरण कार्यक्रम सुरु भएको छ। सिंचाई मन्त्री दीपक गिरीले सोमबार एक समारोहका बीच कार्यक्रमको उद्घाटन गरेका हुन्। जल उत्पन्न प्रकोप व्यवस्थापन विभाग पुल्चोक ललितपुरमा एक समारोहको आयोजना गरी कार्यक्रमको उद्घाटन गरिएको हो। पहाडका ५३ जिल्लामा यो कार्यक्रम सुरु भएको हो।
गत मंसिर १२ गतेको मन्त्रीपरिषद्को बैठकबाट जोखिमयुक्त पहिरो न्यूनीकरण कार्यक्रम लागू गर्ने निर्णय भए अनुसार आजदेखि कार्यक्रमको विधिबत् सुरुवात गरिएको हो। उद्घाटन कार्यक्रमलार्इ सम्बोधन गर्दै सिंचाई मन्त्री गिरीले प्राकृतिक प्रकोपका कारण आउने विपत्तिपछिको अवस्थाका लागि आपत्कालीन कोष बनाएर अघि बढ्ने विषयमा आफू लागिरहेको बताए।
पहिरो रोकथाम गरेर जनधनको क्षति न्यूनीकरण गर्न यो कार्यक्रम सुरुवात भएको उनले बताए। गेग्रानको रोकथामले पहिरोको तल्लो तटीय क्षेत्र समेतको बचावट गर्न कार्यक्रम प्रभावकारी हुने मन्त्री गिरीको भनाई छ। पर्याप्त स्रोत साधन, जनशक्ति, खतरायुक्त ठाउँको पहिचानका लागि गहिरो अध्ययन गरेर कार्यक्रमलाई प्रभावकारी बनाउनतर्फ लाग्न उनले निर्देशन दिए।
यो योजनाको कुल अवधि १० बर्षसम्म रहने प्रारम्भिक अनुमान छ। जोखिमयुक्त पहिरोहरुको पहिचान, अध्ययन र गुरुयोजना तयारी गर्ने, पहिरोको व्यवस्थापन कार्यका साथै जनचेतनामूलक कार्यहरु सञ्चालन गर्न ५० अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको विभागका उपमहानिर्देशक प्रदिप थापाले बताए। पहिरो तथा भूक्षयबाट भइरहेको जोखिम, नोक्सानी न्यूनीकरण भई मानववस्ती, कृषियोग्य जमिन र निर्मित भौतिक पूर्वाधारहरुको सुरक्षा गर्ने कार्यक्रमको लक्ष्य रहेको छ।