काठमाडौं,माघ ३-
संविधान संशोधन विधेयकमा परिमार्जनको खाका तयार पार्न मधेसी मोर्चाले छलफल थालेको छ। अनौपचारिक कुराकानी जारी राखेको मोर्चाले यस विषयमा थप छलफल गरेर प्रतिवेदन तयार पार्न सचिवालयको बैठक बोलाएको छ। सद्भावना पार्टीको केन्द्रीय कार्यालय मध्य बानेश्वरमा सोमबार दिउँसो १ बजे बस्ने बैठकमा विधेयकमा परिमार्जन गर्नुपर्ने विषय पहिचान गरी त्यसमाथि छलफल गरिने सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमनले जानकारी दिए।
सचिवालयले परिमार्जन गर्नुपर्ने विषयमा छलफल गरी प्रतिवेदन तयार पार्नेछ। त्यसपछि मोर्चामा आबद्ध दलका शीर्ष नेताहरुले त्यसलाई अन्तिम रुप दिनेछन्।सरकारले संसदमा पेश गरेको संविधान संशोधन विधेयक परिमार्जनसहित पारित हुनुपर्नेमा मोर्चाको जोड छ। यद्यपी एमालेसहित प्रतिपक्षी दलहरु भने विधेयकको विपक्षमा छन्। विधेयक फिर्ता लिन माग गर्दै उनीहरुले १ महिनासम्म संसद अबरुद्ध पारे।
त्यसपछि सरकारले विपक्षीहरुको नाराबाजीका बीच विधेयकलाई संसदमा पेश गरेको थियो। यद्यपी त्यसमाथि सैद्धान्तिक छलफल भने अघि बढ्न सकेको छैन। त्यसपछिका बैठकहरुमा यो विधेयक कार्यसूचीमा समेत परेको छैन। मोर्चाको सोमबारको बैठकले विधेयक पास गराउन सरकारलाई दवाव दिन विभिन्न कार्यक्रमहरु पनि तय गर्ने बताइएको छ।