चितवन, माघ १–
चितवन महोत्सव अवलोकनका लागि नारायणी नदी किनार पुगेका दर्शकहरुलाई हास्य कलाकार जीतु नेपाल ‘मुन्द्रे’ले आफ्नो प्रहसन मार्फत मनोरञ्जन प्रदान गरेका छन् । मुन्द्रेसँगै सो महोत्सवमा लोक तथा दोहोरी गायक प्रजापति पराजुलीले दर्शकहरुलाई भजन चुड्का मार्फत छमछमी नचाएका थिए ।
महोत्सवमा पुगेका दर्शकहरुलाई हास्य कलाकार जीतु नेपालले विभिन्न व्यक्तिहरुको नक्कल गरेर हसाएका थिए भने अन्य प्रहसन मार्फत सामाजिक विकृति माथि व्यंग्य समेत गरेका थिए । कलाकार मुन्द्रेले पत्रकार ऋषि धमला, प्रधानमन्त्री पुष्पकमल दाहाल, काँग्रेस सभापति शेरबहादुर देउवा, नेता ामचन्द्र पौडेल, एमाले अध्यक्ष केपी ओलीलगायतका व्यक्तिहरुको क्यारिकेचर गरेर दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए ।
११ औँ चितवन महोत्सवको सांस्कृतिक कार्यक्रममा उपस्थित भएका दर्शकहरुलाई गायक पराजुलीले भने गीत मार्फत नचाउँदै सामाजिक व्यथिति माथि प्रहार गरेका थिए । गायक प्रजापति पराजुलीले समाजमा दर्शनको खाँचो भएको र युवाहरुलाई राम्रो संस्कार दिनुपर्ने बताए । सांस्कृतिक कार्यक्रम अन्तर्गत शनिबार विभिन्न स्थानीय कलाकार तथा नायक जीवन परियार, नायिका रिस्ता बस्नेत, जमुना रानालगायतले आफ्नो प्रस्तुती राखेका थिए । पुस २८ देखि सुरु भएको लोक तथा दोहोरी गीत प्रतियोगितामा शनिबार सेमी फाइलन चरणको पहिलो प्रतिस्पर्धा भएको छ । शनिबार लोक तथा दाहोरी गीत प्रतिष्ठान बागलुङ र लोक तथा दोहोरी गीत प्रतिष्ठान स्याङ्जाकोबीचमा पहिलो चरणको सेमीफाइनलको प्रतिस्पर्धा भएको छ । त्यस्तै, आइतबार लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देही र लोक तथा दोहोरी गीत प्रतिष्ठान चितवनबीच अर्को सेमीफाइनलको खेल हुने साँस्कृतिक व्यवस्थापन समिति संयोजक रोहितकुमार श्रेष्ठले जानकारी दिएका छन् ।