Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सुदूरपश्चिममा काग तिहार मनाइँदै – Gaule Khabar

सुदूरपश्चिममा काग तिहार मनाइँदै

सुदूरपश्चिममा काग तिहार मनाइँदै

बैतडी, माघ १ –

सुदूरपश्चिममा आज काग तिहार मनाइँदैछ । यमपञ्चकमा कागको पूजा गर्ने प्रचलन रहिआए पनि सुदूरपश्चिमका पहाडी जिल्लामा भने आज अलि फरक ढङ्गले काग तिहार मनाइन्छ ।

स्थानीय भाषामा ‘नरहरि’ भनिने यस चाडलाई माघे सङ्क्रान्ति पनि भन्ने गरिन्छ । ‘नर’ भनेको मानिस र ‘हरि’ भनेको भगवानमा लीन हुनु अथवा उपासना गर्नु हो । महिनाको सुरुआत भएकाले माघे सङ्क्रान्तिलाई नरहरि भनिएको बताइएको छ ।

सुदूरपश्चिमका जिल्लामा पुसे तिहार अर्थात् माघे सङ्क्रान्तिमा कागलाई सेलरोटी र अन्य मीठा परिकार खुवाउने चलन छ । हरेक वर्ष पुस मसान्तमा सेलरोटी पकाउँदा सबैभन्दा पहिला पाकेको रोटी कागलाई दिने गरिन्छ । उक्त खानेकुरा माघे सङ्क्रान्तिका दिन बिहानै नुहाइधुवाइ गरी ‘का कौवा का का मेरो रोटी खा’, ‘का कौवा झुनमुने खाइझा’ भनेर बालबालिकाले कागलाई बोलाउँदै खुवाउने प्रचलन छ ।

धर्मशास्त्रअनुसार नरक लोकका अधिपति यमराजले पृथ्वी लोकमा भएका मानिसलगायत सम्पूर्ण जीवित प्राणीको जन्म मृत्युको विवरण राख्ने गर्छन् । त्यस्तो विवरण ल्याउने र लैजाने काम भने कागले गर्ने मान्यता रहेको पं. जयानन्द भट्टले बताए । आकाश मार्गबाट छिटो सन्देश ल्याउने लाने भएकाले यमराजले कागलाई आफ्नो दूत नियुक्त गरेको जनविश्वास अहिले पनि छ । उनले भने  “काग तिहारमा भने यी सबै नकारात्मक मान्यतालाई बिर्सिएर कागको पूजा गरिन्छ ।”

कागलाई यमराजको सन्देशवाहकका रुपमा पनि पूजा गरिन्छ । त्यही भएर चर्को आवाज निकालेर कराउने यस चरालाई काग तिहारबाहेक अरु बेला भने अशुभ र अशुद्ध पक्षीका रुपमा लिइन्छ । आजको दिन कागलाई सम्मानका साथ पूजा गर्ने र खानेकुरा दिने चलन छ । कागले पुस १५ गते तीर्थमा गई स्नान गरी आज फर्केर रोटी खाने गरेको जनविश्वास छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका