काभ्रे, पुस २९-
कुसादेवीका दीपेन्द्र थापा अलैँचीको बिरुवा उत्पादन गरी मनग्य आम्दानी गर्दैआउनुएको छ ।
तीन वर्षदेखि अलैँचीको बिरुवा उत्पादन गर्दैआउनुभएका थापाले बिरुवा बिक्रीबाट वार्षिक रु २० लाखसम्म आम्दानी गर्दै आउनुभएको छ । “सुरुवाती चरणमा बिरुवा उत्पादन गर्न निकै मिहेनत गर्नुपर्छ,” उहाँले भन्नुभयो – “आम्दानी यथेष्ट आम्दानी हुन थालेपछि काम गर्न जाँगर चल्छ ।”
उहाँले सुरुवातमा रु एक लाखको लगानीमा दुई रोपनी जग्गामा अलैँचीको बिरुवा उत्पादन कार्य गर्नुभएको थियो । हाल उहाँले आठ रोपनी जग्गामा बिरुवा उत्पादन गर्दै आउनुभएको छ । थापाले कृषिसम्बन्धी विभिन्न तालिम समेत लिनुभएको छ । तालिम लिएपछि उहाँ बिरुवा उत्पादन गर्न थाल्नुभएको हो ।
“बिरुवा बिक्री गर्न बजारसम्म धाउनु पर्दैन,” उहाँले भन्नुभयो । सर्वसाधारण बिरुवा लिन घरसम्मै आइपुग्छन् । थापाले घरपरिवारको सहयोगबाट नै कामलाई निरन्तरता दिँदै आउनुभएको छ । काउली, मुला लगाउने जग्गामा अलैँचीको बिरुवा रोप्ने गरेको उहाँ बताउनुहुन्छ । केही वर्ष पहिले वैदेशिक रोजगारीका लागि कोरिया जान खोजेका थापा एक्कासी बिरुवा उत्पादनमा लाग्नुभएको हो ।
“आफ्नै देशमा नै गर्न चाहे के हुँदैन, विदेशमा भन्दा दोब्बर आम्दानी गर्न सकिन्छ,” उहाँले भन्नुभयो । अलैँचीको बिरुवा उत्पादनबाटै उहाँले आठजनाको परिवार धान्दै आउनुभएको छ । आफूले अलैँचीको बिरुवा उत्पादनको काम गर्न थालेपछि गाउँका अन्यलाई प्रशिक्षण दिएर सामूहिक बीउ उत्पादनमा जोड दिँदै आउनुभएको छ ।
अलैँचीको एउटा बिरुवाको मूल्य रु १० सम्म पर्छ । एउटा झाङ बिरुवालाई रु २०० सम्म पर्छ । एक किलो अलैँचीको गेडाबाट रु दुई लाखसम्मको बिरुवा उत्पादन हुने थापाको भनाइ छ । हाल थापाले उत्पादन गर्नुभएको बिरुवा काभ्रेपलोञ्चोक, सिन्धुपाल्चोक, कास्की, मकवानपुरलगायत देशका अन्य जिल्लामा समेत बिक्री वितरण हुने गरेको छ । उहाँले रामसाही, गोल्साही, चिवेसाही, डमरसाहीलगायत सात प्रजातिका बिरुवा उत्पादन गर्दै आउनुभएको छ । थापाले हाल खाद्यान्न तथा बीउ आलु, फलफूल, अलैँची नर्सरी उद्योग सञ्चालन गर्नुभएको छ ।- रासस