चितवन ,पौष २८
रत्ननगर नगरपालिकाले आर्थिक बर्ष २०७४÷०७५ का लागि ३० करोड बराबरको अनुमानित बजेट पारित गरेको छ । नगरपालिकाको विहीवार सम्पन्न २१ औं नगरपरिषद्मा आगामी आर्थिक बर्षका लागि कुल ३० करोड २१ लाख २१ हजार रुपैयाको बजेट सार्वजनिक गरेको हो । नगरपालिकाले कृषि र पर्यटन विकासलाई प्राथमिकता दिएर बजेट विनियोजन गरेको छ ।
त्यो संगै नगरपालिकाले सडक निर्माण र मर्मत,सिंचाई,शिक्षा र स्वास्थ्यलाई पनि उत्ततिकै महत्व दिएको कार्यकारी अधिकृत गैरेले बताए । पर्यटन विकासको लागि नगरपालिकाले पर्यटन गुरुयोजना तयार गरी लागु गर्ने,चालु आर्थिक बर्षबाटै पर्यटन शुल्क लागु गर्ने,पर्यटन शुल्कबाट प्राप्त भएको रकम मध्ये ७० प्रतिशत पर्यटन विकासमै खर्च गर्ने र ३० प्रतिशत रकम पिछडिएका बर्गको आर्थिक र सामाजिक विकासमा खर्च गर्ने योजना बनाएको छ । कार्यक्रममा बोल्दै स्थानीय विकास अधिकारी श्रवणकुमार पोखरेलले १४ प्रतिशत आन्तरिक श्रोत भएको नगरपालिकाले गतिलिन नसक्ने भन्दै आन्तरिक श्रोत बढाउन नगरपालिकालाई सुझाब दिए ।
कार्यक्रमको अवसरमा नगरपालिकालाई कार्यालय भवन निर्माणको लागि जग्गा सहयोग गरेका स्वर्गीय नाथुराम महतोको अर्धकद सालिकको अनावरण समेत गरिएको थियो । चितवन क्षेत्र नं.२ का साँसद शेषनाथ अधिकारी प्रमुख अतिथि रहेको सो कार्यक्रममा उत्कृष्ट टोल विकास संस्थाहरु ,त्यसैगरी वातावरणमैत्री वडा घोषणाको लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै टोल विकास संस्था , वडा समन्वय समिति ,लोक गायक मिलन लामा,साहित्यकार तिलकराज पौडेल,तेक्वान्दो खेलाडी पार्वती गुरुङ,कल्याण टोल विकास संस्थाका अध्यक्ष चन्द्रकान्त ओझा लगायत वातावरणमैत्री वडा घोषणा गर्न सहयोग गर्ने अन्य संघसंस्थालाई नगद सहित पुरस्कृत गरिएको नगरपालिकाका लेखा शाखा प्रमुख सिताराम पोखरेलले जानकारी दिए ।
सोही अवसरमा पत्रकारिता क्षेत्रमा क्रियाशिल रहि नगरको बिकासमा योगदान पुर्याएको भन्दै पत्रकार बिकास पौडेल र राजेन्द्र आचार्यलाई नगद सहित सम्मान गरेको छ । नगरपालिकाले उत्कृष्ट करदाता , कर्मचारीहरुलाई पनी सम्मान गरेको छ । नगरपालिकाका कार्यकारी अधिकृत काशिराम गैरेको अध्यक्षतामा भएको सो कार्यक्रममा साँसद काशिनाथ अधिकारी सहित विभिन्न संघसंस्थाका प्रतिनिधि तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले मन्तब्य राखेका थिए भने नगरपालिकाका योजना शाखा प्रमुख इन्जीनियर.प्रकाशचन्द्र ढुगांनाले स्वागत मन्तव्य राखेका थिए ।