चितवन,पुस २८-
नेपाली कथानक चलचित्र ‘लभ साशा’ बिहीबार (आज) बाट अल नेपाल प्रदर्शनमा आएको छ । राम्रो समीक्षा बटुलिरहेको चलचित्र काठमाडौं उपत्यका भित्र १३ वटा र बाहिर ३१ वटा हलमा प्रदर्शनमा आएको हो । अहिले ४४ वटा हलमा लागे पनि विस्तारै यो संख्या बढ्दै निर्माता माधव वाग्लेले बताए ।
प्रचण्डमान श्रेष्ठको निर्देशन रहेको चलचित्रमा केकी अधिकारी, कर्मा शाक्य र आसिफ शाह लिड रोलमा छन् । युवा पुस्ताको माया प्रेम मुख्य कथानक रहेको चलचित्रको कथा पनि निर्देशक स्वयम्कै हो ।
“युवा पुस्ताको कथा भए पनि अग्रज पुस्ताले भोगिसकेको, अहिलेको पुस्ताले भोगिरहेको र आउँदो पुस्ताले भोग्ने कथा हो चलचित्र लभ साशा,” निर्देशक प्रचण्डमानले भने, “यो चलचित्र युवाले मात्रै हेर्ने खालको छ भन्यो भने मलाई अन्याय हुन्छ, दर्शकमा गलत सूचना जान्छ, चलचित्र सबै पुस्ताले हेर्ने खालको छ ।”
“प्रिमियरमा चलचित्रको राम्रो प्रतिक्रिया आएको छ,” निर्माता वाग्लेले भने,” “हाम्रा असली मूल्यांकनकर्ता दर्शक हुन्, त्यसैले चलचित्र चल्छ या चल्दैन आइतबार सम्ममा थाहा हुन्छ ।” निर्देशक श्रेष्ठ चलचित्र लभ साशा माउथ पल्बीसिटीले चल्ने खालको सिनेमा भएको बताउँछन् ।
आजैबाट नेपाली कथानक चलचित्र ‘किङ’ पनि रिलिज भएका छन् । एक्शन स्टार निखिल उप्रेती मुख्य रोलमा रहेको चलचित्रलाई शबिर श्रेष्ठले निर्देशन गरेका हुन् । निर्देशक स्वयमकै कथा रहेको चलचित्रमा लगानी जयन श्रेष्ठको छ । चलचित्रमा अनुपविक्रम शाही, बेनिशा हमाल मुख्य भूमिकामा छन् ।
चलचित्र ‘शब्द’ पनि यही हप्ता ‘किङ’ र ‘लभ शासा’ सँगै भिड्दैछ । सन्तोष शिवाकोटीले निर्देशन गरेको चलचित्रमा सौगात मल्ल, कमली वाइवा लगायतका कलाकार मुख्य भुमिकामा छन् ।
चलचित्र वितरक गोपाल कायस्थले ‘लभ साशा’ ले मल्टिप्लेक्समा र ‘किङ’ ले सिंगल थिएटरमा राम्रो व्यापार गर्ने बताए । “माधव वाग्ले अनुभवी निर्माता हुन् । उनको चलचित्रले मल्टिप्लेक्समा राम्रो व्यापार गर्छ,” वितरक कायस्थले भने, “किङले सिंगल थिएटर कब्जा गर्छ ।”