काठमाडौं, पुस १३–
साबित्रा भण्डारीले पुनः उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले महिला साफ च्याम्पियनसिप अन्तरगत माल्दिभ्सविरुद्ध गोलको वर्षा गरेको छ ।
माल्दिभ्सलाई आज राती सम्पन्न खेलमा ९–० गोल अन्तरले पराजित गरेसंगै सेमीफाईनल नजिक समेत पुगेको छ । सावित्राले एक्लैले पाँच गोल गरेपछि माल्दिभ्सको पोष्टमा गोलको वर्षा भएको थियो । नेपालले खेलको १२ औं मिनेटमा नै साबित्रा भण्डारीको गोलबाट अग्रता लिएको थियो । २८ औं मिनेटमा दोस्रो गोल गरेकी उनले ३९ औं मिनेटमा हृयाट्रिक पुरा गरिन् । पहिलो हाफमा ३–० ले अघि रहेको नेपालले दोस्रो हाफमा थप ६ गोल गर्यो ।
खेलको ५० औं मिनेटमा साबित्राले गोल गरिन् भने दुई मिनेट लगतै मञ्जली योनजनले गोल गरिन् । ६३ औं मिनेटमा साबित्राले पाँचौं गोल गरिन् । ७१ औं मिनेटमा सपना लामा र ७४ औं मिनेटमा हिराकुमारी बुजेलले गोल गरिन् ।
खेलको अन्तिममा निर्मला विकले गोल गरेपछि नेपाल ९–० ले विजयी भयो । यसअघि पहिलो खेलमा नेपालले भुटानलाई ८–० ले हराउँदा सावित्राले डबल हृयाट्रिक गरेकी थिइन् ।
आजको जीतसँगै समूह ए मा रहेको नेपाल ६ अङ्कसहित शीर्ष स्थानमा छ । यस्तै नेपालसँग पराजित माल्दिभ्स ३ अङ्कसहित दोस्रो स्थानमा छ । अब नेपालले शुक्रबार श्रीलङ्कासँग लिगको अन्तिम खेल खेल्नेछ ।
लगातार दोस्रो जित निकालेको नेपाली टोलीले सेमिफाइन यात्रासमेत पक्का गरेको छ ।
नेपाल र माल्दिभ्सको महिला राष्ट्रिय टिम चौथोपल्ट आपसमा प्रतिस्पर्धामा ओर्लिएका हुन् । यसअघि भएका तीनै खेल नेपालले सजिलै जितेको थियो । सन् २०१० मा कक्सबजारमा भएको पहिलो साफ वुमेन्स च्याम्पियनसिपमा नेपालले ६–०, कोलम्बोमा २०१२ मा भएको तेस्रो साफमा ५–० र सिलोङमा २०१६ मा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुदमा नेपालले २–० को जित हात पारेको थियो ।