बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाअन्तर्गतको सुरुङमार्ग (टनेल) निर्माण कार्य आज ‘ब्रेक थु्र’ हुँदैछ । यस क्रममा सुन्दरीजलदेखि सिन्धुसम्मको करिब साढे नौ किमीमध्ये खन्ने काम सम्पन्न हुने भएको छ ।
कुल २७ किलोमिटरमध्ये अब साढे पाँच किलोमिटर मात्र निर्माण गर्न बाँकी छ । यो नेपालको पहिलो सुरुङ मार्गसमेत हो ।
साथै, सिन्धुदेखि ग्यालथोक र ग्यालथोकदेखि अम्बास्थानसम्म पनि निर्माण कार्य द्रुतगतिमा भइरहेको छ ।
अहिले मेलम्चीको पानी उपत्यकावासीमा घर घरमा पु¥याउन धमाधम सडक खन्दै पाइप बिछ्याउने काम द्रुतरुपमा भइराखेको छ । यस कामका लागि नै दिनरात एक हजारभन्दा बढी मजदुर र सयभन्दा बढी प्राविधिक परिचालन समेत भइराखेको छ ।
मन्त्रालयका सचिव उपाध्यायले भन्नुभयो “मन्त्रालयको सबै ध्यान आगामी दसैँमा उपत्यकावासीलाई मेलम्चीको पानी खुवाउन केन्द्रित छ, यसैमा सबै ध्यान लगाएका छौँ ।”
यही क्रममा राज्यमन्त्री दीपक खड्का र सचिव भीमप्रसाद उपाध्यायले रात र दिन दुवै समयमा पाइप बिछ्याउने कामको स्थलगत अनुगमन दैनिक रुपमा गरिरहनुभएको छ । यस क्रममा उहाँहरुले मङ्गलबार राति मीनभवन, बत्तीसपुतली, सिनामङ्गल, चाबहिल, गौशाला क्षेत्रको अनुगमन गर्नुभएको थियो ।
“रातको समयमा खन्ने र पाइप राख्ने काम अत्यन्त कठिन हुँदाहुँदै पनि द्रुतरुपमा काम भइराखेको छ । यही गतिमा काम जारी रहेमा २०७४ भदौभित्र सम्पन्न हुन्छ” सचिव उपाध्यायले भन्नुभयो ।
राष्ट्रिय गौरवका पहिलो प्राथमिकता प्राप्त मेलम्ची खानेपानी आयोजनाको काम निर्धारित समयभित्र पूरा गर्न मन्त्रालय चिन्तित रहेको उहाँले बताउनुभयो ।
राज्यमन्त्री खड्का र सचिव उपाध्यायले आज बिहान मेलम्ची खानेपानी आयोेजनाअन्तर्गत गुह्येश्वरीमा निर्माणाधीन ढल प्रशोधन केन्द्रको अनुगमन समेत गर्नुभयो ।- रासस