बीरगन्ज,पुस १२-
नारायणी उपक्षेत्रिय अस्पताल विरगंजमा कार्यरत मेडिकल अधिकृत विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
अस्पतालका डा. पन्नालाल प्रसाद पटेलले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको देखिएको भन्दै अख्तियारले विशेष अलादतमा आरोपपत्र दायर गरेको हो ।
आरापपत्रमा डा. पटेलले आइएस्सी तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी उक्त पदमा नियुक्ती लिई अनुचित लाभ तथा सुविधा लिएको पाइएको छ ।
पटेलले विहार इन्टरमिडियट शिक्षा परिषद,पटना अन्तरगतको बिर कुँवर सिंह कलेज,पटनाबाट सन् १९९५ मा आईएस्सी उत्तिर्ण गरेको झुठ्ठा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेका थिए । नक्कली प्रमाणपत्रका आधारमा पटेलले नेपाल मेडिकल काउन्सिलबाट दर्ता नम्बर समेत लिएका छन् ।
‘छानविनका क्रममा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको देखिएको हुँदा निज पन्नालाल प्रसाद पटेल लाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाण्डौंमा आरोपपत्र दायर गरिएको छ’ आरोपपत्रमा उल्लेख गरिएको छ ।