चितवन, पुस ११–
शैक्षिक परामर्श व्यवसायी संघ (इक्यान) चितवनको आयोजनामा यही पुस १३ देखी १५ गतेसम्म भरतपुरमा ‘इक्यान शैक्षिक मेला–२०७३’ हुने भएको छ ।
आज मेला स्थल वीरेन्द्र बहुमुखी क्याम्पसमा पत्रकार सम्मेलन गरि मेलाको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । ‘इच्छा अनुसारको शिक्षा, हामी सबैको अपेक्षा, चाहे स्वदेशमा होस् या विदेशमा’ भन्ने मुल नाराका साथ हुन लागेको मेलाको पूर्व शिक्षा मन्त्री गंगालाल तुलाधारले समुद्घाटन गर्ने इक्यान चितवनका अध्यक्ष जीवन रिजालले जानकारी दिनुभयो । विहान ११ बजेदेखि सुरु हुने उद्घाटन समारोहमा शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठलगायत विशिष्ट व्यक्तिहरुको समेत उपस्थिति हुने उहाँले जानकारी दिनुभयो ।
मेलामा स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरुगरि ९६ वटा स्टल र ८ वटा पेभेलियन रहने मेला संयोजक एवंम् इक्यान चितवनका उपाध्यक्ष भानुभक्त खरेलले जानकारी दिनुभयो । उहाँले मेलामा विदेशी तथा स्वदेशी शैक्षिक संस्थाहरुबीच सेमीनार चल्ने जानकारी दिनुभयो । साथै विद्यार्थी तथा अभिभावकहरुले स्वदेशी तथा विदेशी कलेज तथा विश्वविद्यालयहरुको प्रतिनिधिहरुसंग प्रत्यक्ष परामर्श लिन सकिने उहाँले बताउनुभयो ।
मेला प्रवेशका लागि निःशुल्क व्यवस्था गरिएको छ ।
पत्रकार सम्मेलमा बोल्दै इक्यान चितवनका संस्थापक अध्यक्ष एवंम् निवर्तमान अध्यक्ष सोमबहादुर कँडेलले यस्तो मेलाले विद्यार्थी र अभिभावकलाई एकै ठाउँमा सबै देशका कलेज र विश्वविद्यालयको बारेमा बुझ्न सहज हुने बताउनुभयो । यस मेलाबाट सही परामर्श पाउँदा विद्यार्थीको भविष्य बन्ने भएकाले यस्तो मेला गर्नु आवश्यकता रहेको बताउनुभयो ।
पत्रकार सम्मेलनमा इप्लानेट एजुकेशन कन्सलटेन्सी नारायणगढका प्रमुख देवराज कँडेलले विदेशबाट शिक्षा आर्जन गरेर विद्यार्थीहरुले स्वदेशीमा व्यापार व्यवसायका साथै विभिन्न क्षेत्रमा लगानी गर्ने भएकाले विद्यार्थीहरुलाई विदेश अध्ययनका लागि रोक्न नहुने बताउनुभयो । उहाँले विदेश पुगेका विद्यार्थीहरु उतै पलायन मात्र नभई देशमा समेत लगानी गर्ने भन्दै आफ्नै उदाहरण प्रस्तुत गर्नुभएको थियो ।
मेलाको सम्पूर्ण व्यवस्थापनको जिम्मा वन अप इभेन्टस एण्ड म्यानेजमेण्ट सोलुसन काठमाडौंले लिएको छ । अहिले मेला स्थलमा स्टल निर्माणको काम धमाधम भईरहेको छ । मेला संचालन गर्न करिव २७ लाख रुपैयाँ खर्च लाग्ने आयोजकले अनुमान गरेको छ भने २० हजार भन्दा बढि विद्यार्थीहरुको अवलोकन गर्ने अपेक्षा गरिएको छ । इक्यानका सचिव हिम्मत पुरीले संचालन गरेको कार्यक्रम अध्यक्ष जीवन रिजालको अध्यक्षतामा सम्पन्न भएको थियो ।