काठमाडौँ, पुस ११ –
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनआन्दोलन, जनयुद्धबाट प्राप्त उपलब्धि उल्ट्याउने षड्यन्त्र भइरहेको बताउनुभएको छ ।
नेकपा ९माओवादी केन्द्र०का स्वर्गीय नेता भक्तिप्रसाद पाण्डेको जीवनमा आधारित पुस्तक ‘चाचा भक्तिप्रसाद पाण्डे सङ्घर्षयात्रा’ सार्वजनिकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले परिवर्तनकारी शक्ति कमजोर भएको भन्दै परिवर्तनका एजेन्डा उल्ट्याउन बन्द कोठाभित्र षड्यन्त्र सुरु भएको बताउनुभएको हो ।
प्रधानमन्त्रीले भन्नुभयो, “संविधानसभाबाट जारी भएको संविधान कार्यान्वयन हुन नदिने, धर्म निरपेक्षता, समावेशी, समानुपातिक प्रतिनिधित्व उल्ट्याउने खेल भएको छ । केही मान्छे २०४७ सालको संविधान ल्याउनुपर्छ भन्न लागेका छन् । परिवर्तनकारी शक्ति एकताबद्ध भएर त्यस्तो प्रवृत्तिलाई अन्त्य गर्नुपर्छ ।”
मुलुकलाई दुर्घटनातिर लैजाने प्रवृत्ति हावी भएकाले त्यसलाई परास्त गर्न पनि परिवर्तनकारी शक्ति मिल्नुको विकल्प नभएको प्रधानमन्त्रीले उल्लेख गर्नुभयो । मुलुक २०४७ सालतिर फर्कन नसक्ने भन्दै प्रधानमन्त्रीले केही मान्छेले संविधान कार्यान्वयन हुन नदिने सपना देखेको भए त्यसलाई परास्त गरेर अगाडि बढ्न सरकार र परिवर्तनकारी शक्ति मतैक्य भएर जाने स्पष्ट पार्नुभयो ।
संविधान कार्यान्वयन गर्ने बेलामा माओवादी आन्दोलन छाडेर नयाँ बाटोमा लाग्ने डा बाबुराम भट्टराईको कदम आफूलाई अहिले पनि जायज नभएको भन्दै उहाँले परिवर्तनका कार्यसूची जोगाउन पनि एकै स्थानमा आउनुपर्नेमा जोड दिनुभयो । जनयुद्ध, जनआन्दोलनको प्रमुख उपलब्धिका रुपमा संविधानसभाबाट जारी भएको र त्यसको सहज कार्यान्वयन, स्थानीय निकाय, प्रदेश र केन्द्रीय संसद्को निर्वाचन गरेर मुलुकलाई नयाँ दिशामा अगाडि लैजानु आजको प्रमुख दायित्व भएको प्रधानमन्त्रीको भनाइ थियो ।
स्वर्गीय पाण्डेको प्रसङ्ग जोड्दै प्रधानमन्त्रीले निक्कै ठूलो जोखिम उठाएर क्रान्तिको पक्षमा प्रतिबद्ध भएर लाग्ने थोरै मान्छेमध्ये पाण्डे विशिष्ट प्रतिभा भएको बताउनुभयो । नाम र पदको पछाडि कहिल्यै नलाग्ने पाण्डे भावी पुस्ताले समेत गर्व गर्न लायक व्यक्तित्व रहनुभएको भन्दै उहाँले जनयुद्धलाई सफल बनाउने प्रमुख हस्तीसमेत हुनुहुनथ्यो भन्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले माओवादी आन्दोलन एकताबद्ध होओस् र नेता तथा कार्यकर्ता छिन्नभिन्न नहोस् भन्ने मान्यात राख्नुहुने स्वर्गीय नेता पाण्डे अद्भुत क्षमतामा धनी हुनुहुन्थ्यो भन्नुभयो ।
नेपालमा ठूलाठूला परिवर्तन भए पनि त्यसमा बाह्य शक्तिको हात रहेको भन्ने जस्ता नकारात्मक टिप्पणी हुने गरेको उल्लेख गर्दै डा भट्टराईले नेपालको आफ्नै धरातलमा उभिएको र नेपाली जनताको परिवर्तनको महत्वपूर्ण पहलका रुपमा जनयुद्ध रहेको स्पष्ट पार्नुभयो ।
विचारमा फरक परेका कारण आफूले छुट्टै बाटो रोजेको भए पनि आगामी दिनमा एकै ठाउँमा आउन सक्ने अवस्था रहेको भन्दै उहाँले समृद्ध नेपालका लागि आर्थिक समृद्धिको आवश्यकता रहेको बताउनुभयो ।
नेकपा ९माओवादी केन्द्र०का नेता दीनानाथ शर्माले क्रान्तिका लागि समर्पित स्व। पाण्डेले सधैँ मुलुक र जनताको पक्षमा आफूलाई उभ्याउनुभएको बताउनुभयो ।
पत्रकार सीताराम बरालले लेख्नुभएको उक्त पुस्तक साङ्ग्रिला बुक्सले प्रकाशित गरेको हो । अर्बुद रोगका कारण गत कात्तिक २८ गते निधन हुनुभएका पाण्डे माओवादीले सञ्चालन गरेको सशस्त्र सङ्घर्षका लागि अत्यावश्यक पर्ने हातहतियारको आपूर्ति गर्ने विभागको जिम्मा लिनुभएको थियो । – रासस