Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
भूमिगत कमाण्डर विजय पटेल रक्सौलबाट पक्राउ – Gaule Khabar

भूमिगत कमाण्डर विजय पटेल रक्सौलबाट पक्राउ

भूमिगत कमाण्डर विजय पटेल रक्सौलबाट पक्राउ

बारा,पुस ११–

लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेका जनतान्त्रिक तराई मुक्ति मोर्चा (ज्वाला समूह) का बारा जिल्ला कमाण्डर विजय पटेल भारतको रक्सौलबाट पक्राउ परेका छन् । लुकिछिपी बस्दै आएका फेटा निवासी ४० वर्षीय पटेललाई भारतीय प्रहरीले पक्राउ गरी मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौंडाको सादा पोसाकका टोलीलाई ‘ह्यान्न्ड ओभर’ गरेको थियो । त्यसपछि क्षेत्रको उक्त टोलीले जिल्ला प्रहरी बारालाई बुझाएपछि पटेललाई थप अनुसन्धानको लागि हिरासतमा राखिएको हो ।

२०६६ बैशाख १७ मा कलैया १० निवासी शिक्षक प्रदीप तिमल्सिनाको हत्यामा उनी संलग्न रहेको प्रहरीको मुद्दा अभिलेखमा उल्लेख छ । नेरामावि फेटाबाट बिहानीको कक्षा लिएर घर फर्किँदै गर्दा तिम्लिसेनाको फेटा-१ स्थित सडकमा गोली हानी हत्या गरिएको थियो ।

‘पटेलमाथिको मुद्दा मुल्तबीमा छ । त्यसैले थप अनुसन्धानको लागि हिरासतमा राखिएको छ,’ मुद्दा अनुसन्धान अधिकृत प्रहरी निरिक्षक खगेन्द्र धमलाले भने, ‘हत्याबाहेक उनीमाथि जबरजस्ती चन्दा असुली, धम्कीलगायतको मुद्दमसमेत भएकाले विस्तृत छानबिन भइरहेको छ ।’

प्रहरीका अनुसार उक्त हत्यामा बारा–पर्साका सैन्य कमाण्डर अग्नी भनिने सुनिल जैसवालसमेत संलग्न रहेकोमा उनी सर्वस्व कैद सजायअन्तर्गत जेल जीवन बिताइरहेका छन् ।

सुनिललाईसमेत भारतको आदापुरबाट नारायणी अञ्चल प्रहरी कार्यालय वीरगन्जका तत्कालीन प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले पटना प्रहरीको सहयोगमा पक्राउ गरेका थिए । तिमल्सिनाको हत्याबाहेक २०६६ पुस २२ मा गंजभवानीपुरमा चार माओवादी कार्यकर्ताको हत्या गरी भारतमा बस्दै आएका थिए ।

यसरी पातलिँदै छ भूमिगत समूह
मध्य तराईको बारा, पर्सा र रौतहटमा सशस्त्र समूह पातलिएका छन् । समूहभित्र आन्तरिक कलह, विभाजन, अन्य पार्टीमा प्रवेश र कतिपय समूह वार्ताबाट राजनीतिको मुल धारमा आएकाले पातलिएका हुन् । केही वर्षयता समूह पातलिएपछि हिंसात्मक गतिविधिसँगै धम्की र जबरजस्ती चन्दा असुली कम भएकाले सर्वसाधारणले राहत महसुस गरेका छन् ।

कतिपय सशस्त्र समूहका कार्यकर्ता व्यवसाय, खेतिपाती र जागिरे भएका छन् । बार एसोसिएसनका पूर्व अध्यक्ष परमहंश केशरीले पहिलो संविधानसभादेखि जन्मिएका ती संगठनहरु दोस्रो संविधानसभा अर्थात ६ वर्ष यता सेलाएकोले जनजीवन सहज बनेको बताउँछन् ।

तराई मुक्ति मोर्चाका तत्कालीन केन्द्रीय संयोजक पर्साका प्रह्लाद गिरीसहितका भूमिगतका कतिपय कार्यकर्ताहरु उक्त मोर्चा त्याग गर्दै दोस्रो संविधानसभा निर्वाचनअघि एमाओवादी पार्टीमा प्रवेश गरे ।

जनकपुर बम विस्फोटका नाइके तथा यी क्षेत्रमासमेत हिंसात्मक घटनामा सिक्रिय धनुषाका राजन मुक्ती भनिने रञ्जित झा भारतको पटनाबाट पक्राउ परे । यसैगरी बारामा माओवादीका ४ कार्यकर्ताको हत्यामा संलग्न तराई मुक्ति मोर्चाका केन्द्रीय सदस्य अग्नी भनिने सुनिल जयसवाल पक्राउ परेर जेल गए ।

जयसवाल र झा सबै भन्दा माथिल्लो तहका थिए । यसबाहेक फौजदारी अपराध अन्तर्गतका मुद्दा रहेका एक दर्जन भन्दा बढी नेता कार्यकर्ता प्रहरीको फन्दामा परी कानुनी दायरामा आइसकेका छन् ।

सुरक्षा स्रोतका अनुसार केही वर्षयता भूमिगत समूहमा सक्रिय बारा, पर्सा र रौतहटका ९ अगुवा कार्यकर्ताको सिमापारी गाउँ सहरमा हतियारधारी समूहको आक्रमणबाट मृत्यु भइसकेको छ ।

‘ती संगठनहरुमा आफैंमा मार्ने र मर्ने क्रमसँगै सुरक्षा कारबाहीसमेत तीब्र भएपछि उनीहरुमा त्रास बढेको एक सुरक्षा अधिकारीले बताए । बारा, पत्रहटी गाविसका २५ वर्षीय विनोद कुसवाहा सात बर्ष अघि रौतहट सदरमुकाम गौर सिमावर्ती भारतीय सहर बैरगनियामा आफ्नै कार्यकर्ताको असहयोगले मारिएपछि यस क्षेत्रमा भूमिगत संगठनका कार्यकर्ताको हत्याको श्रृङ्खला सुरु भएको थियो ।

जयकृष्ण गोइत नेतृत्वको अखिल तराई मुक्ति मोर्चाका क्षेत्रीय कमाण्डर कुशवाहाको हत्यापछि जिल्लाको अमृतगंज गाविस २ का जनतान्त्रिक तराई मधेस मुक्ति क्रान्तीकारी पार्टीका अवधलाल चमार, हर्दिया गाविस २ का बच्चा यादव, सिसवा महेशपुर गाविस ८ का जनतान्त्रिक तराई मुक्ति मोर्चाका प्रकाण्ड भनिने शेखर सिंह, पर्सा जिल्लाका तुफान सिंह भनिने छोटेलाल पटेल र रौतहट पेटभर्वा गाविसका जनतान्त्रिक तराई मधेस मुक्ति टाइगर्सका कार्यकर्ता रणबीर सिंह भनिने प्रभु पटेल पनि भारतमा नै मारिएका थिए ।

अज्ञात हतियारधारी समूहको गोली प्रहारबाट मारिएका चमारको शव प्रहरीले सिम्रौनगढ पारिको अगरवा गाउँमा वेवारिसे अवस्थामा फेला पारेको थियो भने यादवको छौडादानो, प्रकाण्ड र तुफान सिंहको रक्सौल र रणवीर सिंहको शव भारतीय सीमावर्ती सहर घोडासहन नजिक शव फेला परेको थियो । यसैगरी बाराकै पिप्रा विर्ताका जितेन्द्र तिवारी र इनर्वासिराका मुन्ना अन्सारी वारि नै प्रहरी कारबाहीमा मारिएका थिए ।

प्रहरीका अनुसार भूमिगत समूहका अन्य कार्यकर्तामा बारा भलुही गाविस ७ का १८ वर्षीय भीम र मुन्नाको नामबाट चिनिएका संगीना दास तत्वा, प्रसौनी गाविस ३ का सुभाषचन्द्र बोस, रकी नामबाट हिंसात्मक गतिविधिमा संलग्न प्रमोद साह तेली र नरही ८ बेलाहीका चन्दन भगत, भलुहीभर्वलिया गाविस १ का गोइत समूहका कार्यकर्ता राजकुमार कुर्मी र ज्वाला सिंह नेतृत्वको मधेस तराई मुक्ति पार्टीका कार्यकर्ता बारुद्ध सिंह उपनामका कृष्ण पटेल, क्रान्ति भनिने पन्नालाल सहनी रहेका छन् ।

पर्साको लिपनीविर्ता गाविस ८ का चौहान सिंह भनिने रवीन्द्र पटेल र पर्साका सहायक प्रजिअ बलबहादुर मल्लमाथि गोली हान्ने भूमिगत संगठनका बारा, सुखीपथरा गाविस-८ का भुलावनकुमार पासवान पक्राउ परी जेलमा छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका