काठमाडौं,पुस १०-
नेपाली कांग्रेस सङ्खुवासभा जिल्ला समितिको सभापतिमा दिपीनकुमार श्रेष्ठ चयन भएका छन् ।गत माघ २५ गते भएको सङ्खुवासभा कांग्रेस जिल्ला कार्यसमितिको निर्वाचनमा दिपीनकुमार श्रेष्ठ र पासाङ शेर्पाले बराबर मत प्राप्त गरेपछि हालसम्म सभापतिको छिनोफानो हुन सकेको थिएन ।
केन्द्रीय निर्वाचन समितिले निर्वाचन निर्देशिका २०७२ को २ (झ) बमोजिम दुवै प्रत्यासीमध्येबाट गोलाप्रथाद्वारा निर्वाचन परिणाम घोषणा गरेको छ । समिति सदस्य गोपालकृष्ण घिमिरेका अनुसार गोला प्रथाबाट श्रेष्ठ सभापति चयन भएका हुन् ।
समितिले यसअघि गत मंसिर २२ गते बराबरी मत प्राप्त गर्ने दुवै प्रत्यासीमध्येबाट गोलाप्रथाद्वारा टुङ्गो लगाउन दुवैलाई पार्टी केन्द्रीय कार्यालयमा उपस्थित हुन निर्देशन दिएको थियो । पार्टी केन्द्रीय कार्यालय सानेपामा समितिको रोहवरमा प्रत्यासी शेर्पाका प्रतिनिधि श्यामसुन्दर शेर्पा र श्रेष्ठको प्रतिनिधिसमेत नभएकाले समिति सचिव जगन्नाथ श्रेष्ठले गोला तानेका थिए ।रासस