काठमाडौँ, पुस १० –
‘जहाँ मोबाइल बजार त्यहीँ मोबाइल महोत्सव’ भन्ने मूलनाराका साथ पुस १३ गतेदेखि ‘न्युरोड मोबाइल महोत्सव– २०७३’ हुने भएको छ ।
नेपाल मोबाइल व्यवसायी सङ्घले आयोजना गरेको सो महोत्वसव पुस १९ गतेसम्म सञ्चालन हुनेछ । नेपालको मोबाइल हबको रूपमा परिचित पाको न्युरोडमा हुने महोत्सवलाई ‘एनसेलले’ प्रायोजन गर्ने यहाँ आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
सङ्घले अङ्ग्रेजी नयाँ वर्ष २०१७ को अवसरमा नेपालको सबैभन्दा ठूलो र पुरानो मोबाइल केन्द्र, पाको न्युरोडस्थित ताम्राकार कम्प्लेस, पिपुल्स प्लाजालगायतका क्षेत्रमा महोत्सवको तयारी पूरा भएको सङ्घका संयोजक पुरूषोत्तम बस्नेतले जानकारी दिनुभयो ।
सङ्घमा हाल ५०० भन्दा बढी व्यावसायी आबद्ध छन् ।
नेपालीले पनि गुणस्तरीय मोबाइल सेट खरिद गरून र नठगिउन भन्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा सबै मोबाइल ब्रान्ड रहने र नयाँ वर्षको अवसरमा मोबाइल खरिदकर्तालाई अधिकतम छुट दिइने संयोजक बस्नेतले जानकारी दिनुभयो ।
महोत्सव अवधिभर स्मार्टफोन खरिदकर्तालाई एनसेलको सिम तथा एक सय एमबीको डाटा सहुलियत दिइनेछ ।
महोत्सव अवधिभर मोबाइल बजारको विभिन्न स्थानमा फूड जोन, किड्स जोन, गेमिङग जोन ग्राहकको लागि राखिने र हरेक मोबाइलमा विशेष छुट दिइने महोत्सवका सहसंयोजक आविष्कारलाल श्रेष्ठले जानकारी दिनुभयो । – रासस