किशोर खनाल
चितवन,पुस ९-
चौबिसकोठी–रामपुर सडकको कालोपत्रे (पिच) गर्ने काम सम्झौता भएको पहिलो मितिमा सम्पन्न नभएपछि सडक विभागले बाध्य भएर फेरि ठेकेदार पक्षलाई निर्माणको समय थपिदिएको छ ।
३० जुन २०१७ सम्म सडक निर्माणको काम सक्ने गरी सडक विभागले समय अवधि थपेको डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकृत गजेन्द्रबहादुर चन्दले जानकारी दिए । यसअघि भएको सम्झौताअनुसार ठेकेदार पक्षले सन् २०१६ अक्टुबर २० सम्ममा काम सक्नुपर्ने थियो । उक्त मितिसम्म जम्मा १५ प्रतिशतमात्र काम भयो । समयमै काम नसकेपछि ठेकेदार पक्षको मागअनुसार नै सडक विभागले समय अवधि लम्बाइदिएको छ ।
सडक निर्माणको लागि सडक विभागले भारतीय कम्पनी एआईपीएल र सैलुङ कन्स्ट्रक्सन प्रालिसँग सम्झौता गरेको हो । समयमै काम सम्पन्न नभएपछि त्यस क्षेत्रका बासिन्दा तथा यात्रुवर्गहरु मर्कामा परेका छन् । चितवनको पर्यटन नगरी मेघौली जाने मुख्य मार्ग यही सडक हो ।
‘सम्झौताको पहिलो मितिसम्म जम्मा १५ प्रतिशतमात्र काम सकिएको थियो । निर्माणको समय अवधि थपिएपछि काम तीव्ररुपमा भइरहेको छ’ सडक निर्माणको सुपरिवेक्षक सोयल टेष्टका आवासीय इन्जिनियर नरेश रामबाबुले भने । उनका अनुसार भरतपुरको पीपलचोकबाट २ किलोमिटर सव वेस र डेढ किलामिटर वेसको काम भएको छ ।
ठेकेदार पक्षले नाकाबन्दी हुनु, भारतीय बैंकसँग ऋण सम्झौता ढिला हुनु, सडकको डिजाइन परिवर्तन हुनु, खोलाहरु बन्द भएर निर्माण सामग्री नपाउनु, भूकम्प आउनुलगायतका कारणले सम्झौताको पहिलो मितिमा सडक निर्माणको काम नसकिएको जनाएको छ ।
‘अहिले धमाधम सववेशको काम भइरहेको छ । दुई दिनपछि नालाको काम सकिन्छ । तीव्ररुपमा काम भइरहको छ’ ठेकेदार पक्षका साइड इन्जिनियर मनिष पराजुलीले भने, ‘थप गरिएको समय मितिभन्दा अगाडि नै भ्याउने कोशिस गर्ने छौँ ।’ उनका अनुसार चौबिसकोठीबाट गरिने कालोपत्रे रामपुरको पेट्रोलपम्पसम्म पुग्नेछ ।
‘ठेकेदार पक्षले जनवरी २२ सम्म निर्माणको ३० प्रतिशत काम सक्नुपर्छ । अहिले १८ प्रतिशत काम सकिएको छ । हेरौँ, थपिएको मितिसम्म कुर्न प¥यो । अब फेरिफेरि समय थप्न पहल गरिँदैन’ डिभिजन सडक कार्यालयका सूचना अधिकृत गजेन्द्रबहादुर चन्दले भने ।
चितवन पोष्ट दैनिकवाट साभार