काठमाडौं,पुस ८-
बृहत राष्ट्रिय खेलकुदको सातौं संस्करण शुक्रबारबाट पूर्वाञ्चलमा औपचारिक रुपमा उद्घाटन भएको छ। सम्माननिय राष्ट्रपति विद्यादेवी भण्डारीले विराटनगरको शहीद रंगशालमा आयोजित समारोहमा घोषणा गरेपछि बृहत खेलकुदको उद्घाटन भएको हो। सातौं राष्टिय खेलकुद सफलताको निम्ति शुभकामना दिँदै भनिन्, सातौं खेलकुदको औपचारिक सुरुवात भएको घोषणा गर्दछु।
तीन पटक सारिएको सातौं खेलकुद तोकिएको समयभन्दा तीन वर्षपछि सम्भव भएको हो। हरेक २ वर्षमा हुने भनेर ३८ सालमा सुरु भएको बृहत खेलकुदको छैटौ संस्करण भएको ५ वर्षपछि मात्र सातौं हुँदैछ। ३५ वर्षे इतिहासमा बल्ल सातौं पटक हुँदैछ।
३० खेलमा करिब ४ हजार खेलाडीले सहभागिता रहेको सातौं खेलकुदको उद्घाटन समारोह करिब ३ घण्टा चलेको थियो। सहभागि ८ टीमका खेलाडीले मार्चपास गर्दै सुरु भएको उद्घाटन समारोहमा पूर्वाञ्चलका विभिन्न संस्कृती झल्कने झाँकी, सांस्कृतिक बाजा लगायत निभिन्न भाषाका नाचगानको प्रस्तुती समेत रहेको थियो।
राष्टपति भण्डारीले खेलकुदले देशको प्रतिष्ठा र ख्याती बढाउने काम गर्ने भन्दै व्यक्ति र राष्टको समग्र विकासको निम्ती भूमिका खेल्ने बताइन्।खेलकुदलाई विकास गर्न सरकारकातर्फबाट यथेष्ट सहयोग हुने आश्वासन दिँदै उनले खेलकुदमा नियमितता र निरन्तरता दिनुपर्ने भन्दै रणनितिक योजना अगाडी सार्नुपर्ने बताइन्।
पछिल्लो समय क्रिकेट र फुटबलले हात पारेको सफलताले नेपाली खेलकुदमा उत्साह थपेको भण्डारीको भनाई थियो। यस्तै कोशी टप्पुमा पाइने अर्नालाई मस्कट बनाउनुले पनि पूर्वाञ्चलको महत्व बढाएको बताइन्।
यस्तै समारोहमा सुटिङका ओलम्पियन खेलाडी टिकाराम श्रेष्ठले सम्पूर्ण खेलाडीको तर्फबाट तथा बक्सिङका अनुप लामाले सम्पूर्ण निर्णायकको तर्फबाट सपथ लिएका थिए।बक्सिङका ओलम्पियन नरेन्द्र पुमाले राष्ट्रिय खेलकुदको दिप प्रज्वलन गरे। छैटौं राष्ट्रिय खेलकुद भएको स्थान धनगढीबाट ओलम्पियनहरु जित बहादुर केसी, कृष्ण बहादुर बस्नेत, विष्णु बहादुर सिंह, टिका बोगटी, प्रविण तुलाधर, बिमला राना मगर र हरी बहादुर रोकायले ओलम्पिक टर्च विराटनगरको पुर्याएका थिए।
ओलम्पिक टर्चलाई ओलम्पियनहरु बैकुण्ठ मानन्धर, सुनिल लाल जोशी, संगिना वैद्य, दीपक विष्ट, पुष्पराज ओझा, चन्द्रकला थापा, मेनुका रावत, डम्वर कुँवर, अर्जुन पण्डित, टीकाराम श्रेष्ठले विरानगरको शहीद रंगशालमा परिक्रमा गराएका थिए।