काठमाडौं पुस ८ –
सम्पूर्ण प्राणीको सुख, शान्ति र कल्याणको कामनासहित बौद्धमा आजदेखि गुरु बज्र जप (विश्व शान्ति पूजा) सुरु भएको छ ।
बुद्ध समाज सेवा केन्द्रले आयोजना गरेको १० दिन लामो शान्ति पूजाको नेतृत्व श्यरटुल दम्क्ष्यो ग्यछो रिन्पोछेले गरिरहनुभएको छ । रिन्पोछे पूजाका लागि भारतको हिमाञ्चल प्रदेशबाट आउनुभएको हो ।
विश्व शान्ति पूजाको आज स्वास्थ्यमन्त्री गगनकुमार थापाले उद्घाटन गर्दै विश्वमा शान्ति प्रवद्र्धन गर्न यस्ता कार्यक्रम सहयोगी हुने बताउनुभयो ।
“गौतमबुद्धको जन्म नेपालमै भएको हो र बुद्धत्व पनि नेपालबाटै प्रारम्भ भएको हो, यो सत्यलाई कसैले पनि लुकाउन सक्दैन, यसको थप दार्शनिक आधार खोजेर गौरवका रुपमा प्रचारप्रसार गर्न जरुरी छ” – उहाँले भन्नुभयो ।
मन्त्री थापाले बुद्धले देखाएको बाटोलाई व्यावहारिक रुपमै आत्मसात् गर्न सके त्यसले सबै नेपालीको कल्याण हुने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीद्वय आनन्द पोखरेल र कृपाशुर शेर्पाले बुद्ध दर्शन कुनै जाति विशेषको नभई विश्वकै दर्शन भएको बताउनुभएको थियो ।
विश्व शान्ति पूजामा १० करोड महासिद्धि मन्त्र जपसमेत गरिने बताइएको छ । बज्र गुरु मन्त्रमा अटल तथा विनाश नहुने शक्ति रहेको विश्वास बौद्ध धर्मावलम्बीहरुमा छ ।
मानिसको विचारमा शुद्धीकरण ल्याउन र अहङ्कार हटाउन शान्ति पूजा गर्न लागिएको आयोजकले जनाएको छ ।
बौद्ध विश्वास अनुसार यो वर्ष अग्नि बाँदर वर्ष परेको र गुरु रिन्पोछेको जन्म वर्ष पनि परेकाले मन्त्र जप तथा विश्व शान्ति पूजा गर्न लागिएको हो ।
पूजा अवधिभर निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरिने भएको छ । रासस