काठमान्डौं,पुस ८-
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समयको दबाव परेमा तीनै तहको निर्वाचन एकैपटक गर्न सकिने बताएका छन् । तर, सरकार स्थानीय तहको निर्वाचन बैशाखमै सम्पन्न गर्ने तयारीमा लागेको उनले दाबी गरे ।
सरकारी वकीलहरुको राष्ट्रिय सम्मेलनलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले निर्वाचनबाट भाग्न खोजेमा देश गम्भीर संकटमा पर्ने खतरा औंल्याए ।
‘तीनै तहको निर्वाचन हामीले गर्नेपर्ने हुन्छ, हामी त्यहाँबाट भड्कियौं भने धेरै समस्याहरु पैदा हुनसक्छ,’ उनले भने ।
स्थानीय निर्वाचन आउने बैशाखसम्ममा सम्पन्न गर्ने सम्भावनाा अहिले पनि प्रबल रहेको भन्दै उनले भने, ‘प्रदेश र केन्द्रको निर्वाचन एकैचोटी मंसिरमा गर्न पनि सकिन्छ । यदि हामीलाई समयको दबाव पर्यो भने तीनवटै निर्वाचन एकैचोटी पनि गर्न सकिन्छ । तर, निर्वाचन एउटा गर्ने र अर्को चाहिँ नगर्ने भन्न थालियो भने संविधानको मूल मर्म र भावनाबाट बिचलन हुन्छ ।’
संविधानको स्प्रीटअनुसार निर्वाचनको तयारीमा सरकार लागेको प्रधानमन्त्री प्रचण्डले बताए । निर्वाचनको वातावरण बनाउनका लागि संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गरेको उनको भनाइ छ ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेतर्फ संकेत गर्दै उनले भने, ‘अहिले निर्वाचन सम्बन्धी केही विधेयकहरु संसदमा छन् । संशोधन प्रस्ताव संसदमा छ, महाअभियोग प्रस्ताव पनि संसदमा छ । यी सबैलाई हामी विषयमा सहमत हुन सक्दैनौं भने पनि प्रक्रियामा सहमत भएर छिटोभन्दा छिटो टुंगो लगाउनु र निर्वाचनतिर लानु देशको आवश्यकता हो ।’
हाल देखिएका विवाद र बहसलाई छिटै टुंगो लगाएर निर्वाचनमा जान सरकार प्रतिवद्ध रहेको उनले बताए ।
आफूले सरकारको नेतृत्व सम्हालेपछि मधेस, पहाड र हिमाललाई एकतावद्ध गर्न संविधान संशोधन प्रस्ताव अघि सारेको प्रचण्डले दाबी गरे । नेपालको भूस्थिति र विविधतालाई सम्बोधन गर्न पनि संविधान संशोधन गर्नेपर्नैै अवस्था आएको उनले तर्क गरे ।
प्रधानमन्त्री प्रचण्डले संविधान कार्यान्वयनमा साथ दिन सबैलाई आग्रह पनि गरेका छन् ।