रत्ननगर (चितवन ),पुस ७ –
बाढी र पहिरो प्रभावित क्षेत्रमा विपद् व्यवस्थापन गर्न नेपाल ग्रामीण पुनःनिर्माण संस्था ९आरआरएन०मार्फत रु छ करोडको परियोजना सुरु भएको छ ।
विपद् व्यवस्थापनअन्तर्गत जलउत्पन्न प्रकोप व्यवस्थापन परियोजना सुरु भएको हो । जिल्लाको दक्षिण माडी नगरपालिका र पूर्व लोथर गाविसमा कार्यक्रम सुरु भएको परियोजनाका जिल्ला संयोजक रवीन्द्र सिंहले जानकारी दिनुभयो ।
परियोजनाअन्तर्गत माडी नगरपालिकामा स्पर, तटबन्धन, वृक्षरोपण गर्ने र लोथरमा पहिरो प्रभावित क्षेत्रमा सुरक्षा पर्खाल निर्माणलगायत विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने भएको छ । यस्तै समुदायमा आधारित विपद् व्यवस्थापन समितिको सशक्तीकरणलगायत भौतिक संरचना निर्माण, विद्यालयस्तरीय विपद् जोखिम न्यूनीकरण, स्थानीय विपद् व्यवस्थापन समितिको क्षमता अभिवृद्धि, भूकम्प प्रतिरोधी भवन आचारसंहितासम्बन्धी जानकारी दिइने लक्ष्य रहेको जनाइएको छ ।
जिल्लाका पहाडी आठ गाविस र दक्षिण माडी जल उत्पन्न प्रकोपका दृष्टिले उच्च जोखिममा छ । माडीमा बर्सेनि बाढीका कारण धनजनको क्षति हुँदै आएको छ । पहाडी गाविसमा पहिरो र बाढीले मानिस जोखिममा छन् ।
प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद भट्टले चितवन जल उत्पन्न प्रकोपका हिसाबले उच्च जोखिममा रहेकाले सो परियोजना समयसापेक्ष रहेको बताउनुभयो । काम गर्दा जिल्ला विपद् व्यवस्थापन समितिको गाइड लाइनअनुसार गर्न सुझाव दिँदै उहाँले यससँग सम्बन्धित अन्य सङ्घसंस्थासँग समन्वय गरेमा अझै प्रभावकारी हुने बताउनुभयो ।
स्थानीय विकास अधिकारी श्रवणकुमार पोख्रेलले विपद् व्यवस्थापनका क्षेत्रमा काम गर्न आएको संस्थाको कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्दै यसलाई पारदर्शी रुपमा सञ्चालन गर्न आग्रह गर्नुभयो । आरआरएनका कार्यकारी निर्देशक ज्ञानबहादुर अधिकारीले सरकारी निकायसँगको समन्वय र सहकार्यमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । – रासस