गोरखा, पुस ७–
बाआमाले नै दोस्रो बिहेगरेपछि गोरखा डाँडेगाउँकी पुतली चेपाङको बिचल्ली भएको छ ।
पुतलीकी आमा अर्कैसँग हिँडेको केही समयपछि बुबा एकबहादुरले पनि कान्छीआमा ल्याएर हिँडेपछि पुतलीसँगै उनका दाइदिदीको बिचल्ली भएको हो। पुतलीलाई अहिले हजुरआमा धनमाया चेपाङले पालिरहेकी छन्। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
‘बिहान खोलेफाँडो पकाउँछु । साँझमा उसिनेको पिँडालु खान्छौं’ धनमायाले भनिन्, ‘बाआमाले नै छाडेपछि नातिनातिनीको बिजोग भएको छ ।’
पुतलीका दुवै दाइहरु भारतको हिमाञ्चलमा छन् भन्ने खबर आएको धनमायाले बताइन् ।
बाआमाको गैरजिम्मेवारीका कारण किताब कापी बोकेर विद्यालय जानु पर्ने उमेरमा अहिले पुतली हजुरआमासँग वनमारा घारीमा बाख्रा चराउँन जान्छिन् । ‘स्कुल जान मान्दिन, भर्ना पनि गरेको छैन ।’ धनमायाले भनिन्, ‘म जहाँ गयो त्यहीं जान्छे । राति पनि सँगै सुत्छौं ।’