बुटवल,पुस ५-
युवासंघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याको विरोधमा विहानै देखि प्रदर्शन भएको छ । रुपन्देही, अर्घाखाँची,पाल्पा, गुल्मी, नवलपरासी लगाएतका जिल्लाहरुमा युवासंघका कार्यकर्ताहरुले दोषीलाई कडा कारवाहीको माग गर्दै प्रदर्शना गरेका हुन् ।
गोली लागेर गम्भिर घाइते भएका तिवारीको देवदह मेडिकल कलेजमा उपचारकोक्रममा मृत्यु भएपछि सोमबार साँझ देखि नै बुटवलमा प्रदर्शन सुरु भएको हो । युवासंघको झण्डा बोकेर सडकमा निस्केका युवाहरुले ‘हत्यारालाइ कारवाही गर, मान्छे मार्न पाइदैन’ जस्ता नारा लगाउँदै प्रदर्शन गरिरहेका छन् ।
युवासंघले तीवारी हत्याको विरोधमा लुम्बिनी अञ्चल बन्दको घोषणा गर्दै अपराधीलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ । युवा संघका केन्द्रीय सचिवालय सदस्य देवराज पोखरेलले अपराधी प्रकाउ नपरे सम्म आन्दोलन जारी रहने बताएका छन् ।
बन्दका कारण रुपन्देही आसपासका जिल्लाहरुमा लामो तथा छोटोदुरीका सवारी साधन चल्न सकेका छैनन् । विद्यालय, उद्योग, कलकारखाना बजार ठप्प छन् । तिन दिनको आमहड्ताल पछि खुलेको रुपन्देही आसपासका जिल्लाहरु फेरि ठप्प भएपछि जनजीवन प्रभावित हुन पुगेको छ ।
तिवारीमाथि हिजो सोमबार रुपन्देहीको खैरेनीमा गोली प्रहार भएको थियो । प्रहरीले अनुसन्धान जारी राखेको बताएको छ । रुपन्देहीका प्रहरी नायब उपरीक्षक बेलबहादुर पाण्डेले घटनाको प्रारम्भिक अनुसन्धानमा तिवारीको हत्यामा मनोज पुनको संलग्नता देखिएको संचारमाध्यमलाइ बताएका छन् ।
पुनको तिवारीसँग पुरानो रिसइबी रहेको र सोही रिसइबीका कारण हत्या भएको हुनसक्ने प्रहरीले बताएको छ । ९ महिना अघि पनि तिवारीमाथि गोली प्रहार भएको थियो । तीवारीको शवलाइ अहिले लुम्बिनी अञ्चल अस्पतालमा राखिएको छ ।