नेकपा एमाले निकट युवा संघका रुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारीको अज्ञात समूहले हानेको गोली लागी निधन भएपछि स्थिति असामान्य बनेको छ ।युवा संघले खैरेनीका मनोज पुनले गोली हानेको आरोप लगाएको छ । मनोजले तिवारीलाई पटक पटक ज्यान मार्ने धम्की दिएको र केही महिना अघि समेत आक्रमणको प्रयास गरेको युवा संघका लुम्बिनी अञ्चल उपाध्यक्ष कुलेन्द्र पुनले जानकारी दिए ।
मनोज पुनले घटनापछि अज्ञात नम्बरबाट अन्य ब्यक्तिहरुलाई समेत ज्यान मार्ने धम्की दिएको बताइएको छ । जसका कारण स्थानीय वासिन्दा त्रसित बनेका छन् ।
रुपनदेहीमै ईटा उद्योग संचालन गर्दै आएका तिवारीमाथि ६ महिना अघि उद्योगमै आक्रमण भएको र सो घटनामा मुछिएका मनोज फरार रहेको बताइएको छ । रुपन्देहीका एसपी रबिन्द्र बहादुर धानुकले आक्रमणकारीको खोजी तिव्र पारिएको बताएका छन् ।
फोनबाट धम्की दिने मनोज पुनलाई पक्राउ नगरेसम्म शव नउठाउने भन्दै युवा संघ कार्यकर्ता तथा स्थानीय वासिन्दाले अस्पताल बाहिर प्रदर्शन गरिरहेका छन् ।
तिवारी पाँच नम्बर प्रदेश विभाजन विरुद्धको आन्दोलनमा सक्रिय रहँदै आएका थिए । घटनापछि युवा संघले रुपन्देही, नवलपरासी, कपिलवस्तु लगायतका जिल्लामा ब्यापक प्रदर्शन गरेको छ भने ती जिल्लाहरुमा पुनः बन्द आह्वान गरेको छ ।
रुपन्देहीको देवदह नगरपालिका–६ स्थित खैरनी बजारमा दिउँसो साढे तीन बजे तिवारीमाथि गोली प्रहार भएको थियो । नजिकैको देवदह मेडिकल कलेजमा उपचारका क्रममा उनको निधन भएको हो ।
पछाडिबाट हानिएको गोली अगाडि छातिबाट निस्किएको बताइएको छ । रातो पल्सर मोटरसाइकलमा गएका दुई जनाले तिवारीमाथि गोली हानेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
गोली हान्नेहरुको खोजी भईरहेको र पहिचान हुन नसकेको रुपन्देही प्रहरीका डीएसपी बेलबहादुर पाण्डेले बताएका छन् ।