सोलुखुम्बु । सगरमाथा सफल आरोहणको ७० औं बर्षगाँठ भव्यताकासाथ मनाइने भएको छ । सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पहिलो पटक मानव पाइला पुगेको ७० बर्ष पुगेको अवसरमा “प्लाटिनम जुब्ली” भव्यताका साथ मनाइने भएको हो ।
सन् १९५३ मे २९ मा नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्यूजिल्याण्डका सर एडमण्ड हिलारीले सगरमाथाको पहिलो पटक सफल आरोहण गर्नुभएको थियो ।
“प्लाटिनम जुब्ली” को अवसरमा खुम्बु पासाङल्हामु गाउँपालिकाले यहि मे २६ देखि २९ तारिकसम्म विभिन्न कार्यक्रमको आयोजना गरेको छ । गाउँपालिकाले जेठ १२ तदनुसार मे २६ मा तेन्जिङ हिलारी बिमानस्थल लुक्लामा तेन्जिङ हिलारी पार्कको उद्घाटन गर्ने कार्यक्रम तय गरेको छ ।
यस्तै जेठ १३ र १४ गते तदनुसार मे २७ र २८ मा खुम्जुङ माध्यमिक विद्यालयमा विद्यालय स्तरीय अतिरिक्त क्रियाकलापको कार्यक्रम राखिएको छ । जेठ १५ तदनुसार मे २९ मा खुम्जुङ माध्यमिक विद्यालयमा “सर एडमण्ड हिलारी भिजिटर्स सेन्टर” र सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेमा तेन्जिङ नोर्गे शेर्पा संग्रहालय केन्द्र” को उद्घाटन गरिने कार्यक्रम रहेको छ ।
सगरमाथाको सफल आरोहण भएको दिन अर्थात् मे २९ मा नै नाम्चे बजारमा सर एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाको परिवारलाई सम्मान पत्र वितरण र एभ्रेष्ट म्यूजिकल नाइटका साथमा प्लाटिनम जुब्ली कार्यक्रम समापन गरिने खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष मिङमा छिरी शेर्पाले जानकारी दिनुभयो ।
“प्लाटिनम जुब्ली” कार्यक्रम भव्यताका साथ सफल पार्न अन्तिम तयारी भइरहेको वहाँको भनाई छ ।
तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले १९५३ मे २९ मा सगरमाथाको आरोहण गरे पश्चात् ८ हजार भन्दा बढीले सगरमाथाको आरोहण गरिसकेकाछन् । पर्यटन विभागका अनुसार यस बर्षको चालु सिजनमा सगरमाथा आरोहणका लागि ४६६ जनाले अनुमति लिएका छन् । यो एकै सिजनमा आरोहण अनुमति लिनेमध्ये अहिलेसम्मकै उच्च संख्या हो ।
तस्वीर ः सोलुखुम्बुको लुक्ला बजार