चितवन, पुस १३–
शैक्षिक परामर्श व्यवसायी संघ (इक्यान) चितवनको आयोजनामा आज (बुधबार)देखि भरतपुरमा ‘दोस्रो इक्यान शैक्षिक मेला–२०७३’ सुरु भएको छ ।
आजदेखि सुरु भएको मेला पुस १५ गतेसम्म वीरेन्द्र बहुमुखी क्याम्पस प्राङगण भरतपुरमा हुने छ । मेलाको आज एक भव्य समारोहकाबीच शक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले उद्घाटन गर्नुभयो ।
मेलामा स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरुगरि ९६ वटा स्टल र ८ वटा पेभेलियन रहेको मेलाका संयोजक भानुभक्त खरेलले जानकारी दिनुभयो ।
‘इच्छा अनुसारको शिक्षा, हामी सबैको अपेक्षा, चाहे स्वदेशमा होस् या विदेशमा’ भन्ने मुल नाराका साथ सुरु भएको मेलामा विदेशी तथा स्वदेशी शैक्षिक संस्थाहरुबीच सेमीनार चल्ने छ । यस्तै विद्यार्थी तथा अभिभावकहरुले स्वदेशी तथा विदेशी कलेज तथा विश्वविद्यालयहरुको प्रतिनिधिहरुसंग प्रत्यक्ष परामर्श लिन सक्ने छन् ।
मेला प्रवेशका लागि निःशुल्क व्यवस्था गरिएको छ । मेलाको सम्पूर्ण व्यवस्थापनको जिम्मा वन अप इभेन्टस एण्ड म्यानेजमेण्ट सोलुसन काठमाडौंले लिएको छ । मेला संचालन गर्न करिव २७ लाख रुपैयाँ खर्च लाग्ने आयोजकले अनुमान गरेको छ भने २० हजार भन्दा बढि विद्यार्थीहरुले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
उद्घाटन समारोहमा शैक्षिक परामर्श व्यवसायी संघ (इक्यान)का केन्द्रीय अध्यक्ष प्रकाश पाण्डेले सरकारले शैक्षिक परामर्श व्यवसायीहरुको वर्गीकरण गर्न नहुने बताउनुभयो । उहाँले सबै व्यवसायीले दिने सेवा एउटै भएकाले वर्गीकरणको आवश्यकता नभएको बताउनुभयो । अध्यक्ष पाण्डेले सधै शैक्षिक परामर्श व्यवसायीहरुलाई नेपाली विद्यार्थीहरुलाई विदेश पठाउने काम मात्रै गर्ने भन्ने भन्ने आरोप लाग्ने गरेको भन्दै अब नेपालमा विदेशबाट विद्यार्थी ल्याउने वातावारण सरकारले बनाउनुपर्ने बताउनुभयो ।
यस्तै कार्यक्रममा बोल्दै वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरका क्याम्पस प्रमुख गोविन्द सापकोटाले नेपाली विद्यार्थीहरुलाई सकभर छात्रवृत्ति कोटामा पठाईनु पर्ने बताउनुभयो । उहाँले वीरेन्द्र क्याम्पसले पनि नयाँ–नयाँ कार्यक्रमहरु ल्याउन लागेको भन्दै अब विदेशबाट विद्यार्थीहरुलाई नेपाल ल्याउने काम इक्यानले गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा इक्यानका पूर्व अध्यक्ष राजेन्द्र बराललगायतले बोल्नु भएको थियो । कार्यक्रममा इक्यानका केन्द्रीय उपाध्यक्ष एवंम मेला संयोजन विभागका विष्णुहरि पाण्डेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन सत्र इक्यान चितवनका अध्यक्ष जीवन रिजालको अध्यक्षतामा सम्पन्न भएको थियो ।