चितवन, फागुन ६–
पूर्वी चितवनको खैरहनीमा दोश्रो खैरहनी राष्ट्रिय आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । प्रजातन्त्र दिवसको अवसर पारेर खैरहनी तेक्वान्दो डोजाङले प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगिताको एक कार्यक्रमकाबीच खैरहनी नगरपालिकाका कार्यकारी अधिकृत गंगाबहादुर भुजेलले उद्घाटन गरेका छन् । खैरहनी तेक्वान्दो डोजाङका प्रमुख कृष्ण थापाको अध्यक्षतामा भएको उद्घाटन समारोहमा नेशनल आवासीय मा.व.का प्रार्चाय रामचन्द्र लामिछाने, समाजसेवी टेकबहादु थापा, चितवन जिल्ला तेक्वान्दो संघका अध्यक्ष पुष्पराज जोशीलगायतले मन्तव्य राखेका थिए । त्यस्तै आज (शुक्रबार) भएको प्रतियोगितामा अन्तर्गत पुम्से तर्फ दुई जनाले स्वर्ण पदक प्राप्त गरेका छन् । पुम्से खेलको पुरुषतर्फ चितवनका साहिल आलाम र महिला तर्फ नुवाकोटकी ज्योती तामाङ्गले स्वर्ण पदक प्राप्त गरेको प्रतियोगिताका जुरी एवं चितवन जिल्ला तेक्वान्दो संघका अध्यक्ष पुष्पराज जोशीले जानकारी दिए ।
विभिन्न उमेर समूहबीचको तेक्वान्दा प्रतियोगिताको क्वाटरफाइनल सम्मको खेल आज सम्पन्न भएको छ । प्रतियोगिताको सेमीफाइनल र फाइनल खेल भोली (शनिबार) हुने खैरहनी तेक्वान्दो डोजाङका प्रमुख कृष्ण थापाले जानकारी दिए । प्रतियोगितामा पुरुष तर्फ २० तौलदेखी ६२ किलो तौल समूह र महिला तर्फ २० तौलदेखी ४९ किलो तौल समूह सम्म प्रतिस्पर्धा हुने छ । कुल २१ वटा स्वर्ण, २१ रजत र ४२ वटा कास्य पदकका लागि प्रतिस्पर्धा भएको डोजाङ प्रमुख थापाले बताए ।