खेतीपातीबाट वार्षिक आठ लाख आम्दानी

खेतीपातीबाट वार्षिक आठ लाख आम्दानी

काभ्रे, फागुन ६-

महादेवस्थान–९ का ४८ वर्षीय गोविन्दप्रसाद नेपाल मध्याह्नको चर्काे घाममा खेतमा आलु खन्दै गरेको अवस्थामा भेटिनुभयो । उहाँको निधारबाट खलखल पसिना बगिरहेको थियो ।

“पसिना बगाएमात्र मनग्य आम्दानी लिन सकिन्छ,” उहाँले । विगत १५ वर्षदेखि व्यावसायिक रुपमा खेतीपाती गर्दै आउनुभएका उहाँले कृषि विकास कार्यालयको आइपिएम पद्धति अपनाइरहनुभएको छ ।

रासायनिक मलको प्रयोग न्यून रुपमा गर्दासमेत उत्पादन पर्याप्त भइरहेको उहाँको भनाइ छ । एक रोपनी जग्गाबाट उन्नत जातको बीउको प्रयोग गर्दा ६८ बोरासम्म आलु उत्पादन हुने गरेको उहाँले बताउनुभयो । खेतीपाती गर्न मलको आवश्यकता पर्ने भएकाले नेपालले छवटा पशुसमेत पाल्दै आउनुभएको छ । सो मलको प्रयोगबाट माटोको उर्वराशक्ति बढेको उहाँको भनाइ छ ।

“पशुपालन गर्दा खेतीबाट उत्पादित घाँस खेर जाँदैन, खेतीका लागि आवश्यक मल पनि सजिलै पाइन्छ,” नेपालले भन्नुभयो । पशुपालनबाट दोहोरो रुपमा फाइदा हुने उहाँ बताउनुहुन्छ । रासायनिक मलको थोरै प्रयोग गर्दा माटो खुकुलो हुन्छ । कृषि विकास कार्यालयले कुन बाली कसरी लगाउने तालिम उपलब्ध गराउँदा आफूलाई खेती गर्न सजिलो भएको नेपालले बताउनुभयो ।

विदेशमा गरेजति मेहनत नेपालमा नै गर्न सके मनग्य आम्दानी हुनुका साथै परिवारमा पनि खुसियाली छाउने उहाँको ठम्याइ छ । आफूले खेती गर्दा कृषि विकास कार्यालयको सल्लाह बमोजिम गर्ने गरेको हुँदा उत्पादन राम्रो हुने गरेको उहाँ बताउनुहुन्छ ।

नेपालले ‘कुन्तीदेवी कृषि समूह’मार्फत खेतीपाती गर्दै आउनुभएको छ । उहाँले वार्षिक रुपमा दुई बाली धान, आलु र मकै खेती गर्दै आउनुभएको छ । “खाडी मुलुकमा गएर आत्मसन्तुष्टि खोज्नुभन्दा नेपालमै काम गरेर हाँसीखुसीका साथ रहनसक्नु उत्तम हो,” उहाँले भन्नुभयो ।

नेपालले खेतीपातीको आम्दानीबाट नै छजनाको परिवारको पालनपोषण गर्दै आउनुभएको छ । खेतीपाती गर्न सिँचाइको राम्रो सुविधा भएकाले पनि आफूलाई सजिलो भएको उहाँ बताउनुहुन्छ । विसं २०५७ मा चण्डेनी–८ बाट बसाइँ सरेर आउनुभएका नेपाल उक्त क्षेत्रमा आएर जग्गा किनेर खेतीपाती गर्न थाल्नुभएको हो ।

सुरुमा जिल्ला कृषि कार्यालयले दिने सेवा सुविधाका बारेमा आफूलाई जानकारी नहुँदा आफू पछि परेको उहाँले महसुस गर्नुभएको छ । उहाँले एसआरआई विधिमार्फत खेती गर्दा धानको उत्पादन दोब्बर भएको र बीउ राख्दा पहिले राखेको भन्दा आधामात्र राखे पुग्ने गरेको बताउनुभयो । धानको उन्नत बीउको प्रयोग गर्दा लाग्ने ज्यामी पनि कम लाग्ने गरेको बताउनुभयो । साथै धानको पराल पनि राम्रो हुने गरेको उहाँको ठम्याइ छ । उहाँले पहिले दुई बाली धान लगाएर आलु लगाएपछि मकै लगाउने गर्नुभएको छ ।

गत वर्ष धान खेतीमा राम्रो गरेबापत् उहाँलाई जिल्ला कृषि विकास कार्यालयले सम्मान समेत गरेको थियो । उहाँले आलुलगायत काँक्रो, गोलभेँडा, घिरौँलालगायतका तरकारी समेत उत्पादन गर्दैै आउनुभएको छ । तरकारी खेती, धान र दूध बिक्री गरेर उहाँले वार्षिक रु आठ लाख आम्दानी गर्दै आउनुभएको छ । उहाँले रु १८ लाखको लागतमा गाउँमा आठकोठे घर बनाउनुभएको छ । युवालाई कृषिमा सहभागी गराउन सकेमात्र देशको विकास सम्भव हुने नेपालको भनाइ छ ।- रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका