चितवन, फागुन ६–
भरतपुरको बाल्मिकी शिक्षा सदन र भरतपुरकै एडभेन्चर इंग्लिस स्कूल राष्ट्रव्यापी एक्सपर्ट स्कूल क्रिकेट लिग चितवनको उपाधिका लागि भिड्ने भएका छन् । विहीबार फाईनल समीकरण पुरा भएको हो । पहिलो सेमीफाईनलमा वाल्मीकिले भरतपुरको सनराइज इंग्लिस स्कूललाई ३९ रनले पाखा लगाउँदै फाईनल यात्रा तय गर्यो भने एडभेन्चरले कल्याणपुरको स्मल हेभन स्कूलको चुनौतिलाई २८ रनले समाप्त पार्दै वाल्मीकिसंगको उपाधि भिडन्त पक्का गर्यो ।
विशाल चोकस्थित नौ बिगाहा मैदानमा ८४ रनको सामान्य लक्ष्य पछ्याएको सनराइज १२ दशमलव ३ ओभरमा सबै विकेट खेर फाल्दै ४४ रनमा रोकिन पुग्यो । सनराइजका आशिष वंशीले १० रन बनाएका थिए । बाँकी खेलाडीको प्रदर्शन निकै फितलो देखियो । वाल्मीकिको जितमा मनिष थापाले ३ तथा अनुराग सुवेदी र सुजन भट्टराईले समान २ विकेट हात पारे ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको वाल्मीकिले निर्धारित २० ओभरमा सबै विकेट गुमाउदै ८३ रनमा समेटिएको थियो । उस्का लागि समिर अधिकारीले १५, विप्लव गुरुङ र मनिष थापाले समान १२ रन स्कोर गरे । बलिङतर्फ सनराइजका आशिष लम्सालले ४ र सुलभ बरालले ३ विकेट लिएपनि टोलीलाई जिताउन सकेनन् । अलराण्ड प्रदर्शन गरेका मनिष थापा खेलको म्यान अफ द म्याच घोषित भए ।
त्यस्तै दोस्रो सेमीफाईनलमा टस जितेर पहिले ब्याटिङ रोजेको एडभेन्चरले १८ दशमलव ३ ओभरमा अलआउट हुदै १ सय १२ रनको योगफल तयार पारेको थियो । एक समय २३ रनमा ४ विकेट गुमाएको टोलीका लागि विष्फोटक ब्याटिङ गर्दै सो स्कोर खडा गरेको थियो । एडभेन्चरलाई जिताउन आकाश गुरुङले २५, पर्वत श्रेष्ठले २३ र सन्देश राना मगरले १८ रन बनाएका थिए । स्मल हेभनका लागि सचिन सिंहले ४ र कप्तान विधान देवकोटाले २ विकेट झारेका थिए ।
१ सय १३ रनको लक्ष्य पछ्याएको स्मल हेभन १४ दशमलव १ ओभरमा सबै विकेट गुमाएर ८४ रनमात्र बनाउन सक्यो । स्मल हेभनका अमित यादवले १५, रितिक यादव ११ र विधान देवकोटाले १० रन जोडेका थिए । एडभेन्चरको जितमा प्रयास गौतमले एक्लैले ६ विकेट हात पार्न सफल भए । उनले ४ ओभर बलिङ गर्दै २६ रन खर्चिएर ६ विकेट लिएका हुन् ।
उत्कृष्ट बलिङ गरेका प्रयास गौतम खेलको म्यान अफ द म्याच घोषित भए । खेल हेर्न आएका दर्शकमध्येबाट सुरुची बोहोरा लक्की ड्रमार्फत एक्सपर्ट फ्यान अफ द डे को घोषित भएकी छिन । उनलाई मुख्य प्रायोजक एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेसले रु २ हजार प्रदान गर्यो ।
चितवन र आसपासका १० विद्यालयको सहभगितामा सञ्चालन भैरहेको प्रतियोगिताको उपाधि भिडन्त भोली शनिबार हुनेछ । प्रतियोगिताको आयोजक हिमालयन क्रिकेट एकेडेमी, काठमान्डौ हो भने एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस मुख्य प्रायोजकको रुपमा रहेको छ ।