प्रिय खुशी,
जिन्दगीका अशिम प्यारका लहरहरु, मेरो समिपमा भएका वा त्यो क्षितिज पारी बादलमा भएका सबै संगमका रागहरु केबल तिम्रो नाममा । मेरो प्रेमले भरिएका भावपूर्ण शाब्दीक पुष्पगुच्छा रुपी भाबनाहरु यो सात समुन्द्रपारीको देशबाट तिमीप्रति समर्पण । जिवनलाई रंगीन बनाउन जरुरीपर्ने सबै रगंहरु तिम्रो नाममा अर्पण गर्दै आज केही शब्द यो प्रेम पत्र मार्फत तिम्रा लागी ब्यक्त गर्दैछु ।
खुशी, आज तिमीलाई यो पत्र कोर्दै गर्दा म दोहाको सुन्दर ठाउँ कर्नेसको म्युजियम पार्क माथिको अग्लो ठाउँबाट समुन्द्रपारी देखिने त्यो सिटी सेन्टरका गगन चुम्बी महलहरुलाई हेर्दैछु । किन थाहा छ खुशी, जिन्दगीमा सुन्दरता निकै कम चिजहरुमा भेटिन्छ रे । सायद मैले त्यो ठाउँको सुन्दरतालाई तिम्रो सुन्दरता सँग जोडेर तिमी मेरो नजिक मेरो आँखा वरीपरी नै भएको आभाष गर्दै छु । हुन त म आज यो पत्र लेख्नको लागी मात्र यहाँ आएको होईन् जब जब तिम्रा यादहरु आउँछन् अनि म यही पार्कमा बसेर केही घण्टा रमाउँने गर्छु । अझ यो त झन प्रेमको महिना तिम्रो याद र यो ठाउँ त मेरा लागी निकै आनन्ददायी लाग्छ ।
अंग्रेजी क्यालेण्डरको १४ फेब्रुअरी आजको यो दिन मैले मेरो जिवनको खास समय सुरु गर्दैछु खुशी । आज मैले अचानक तिम्रो नाममा यो प्रेम पत्र लेखेर म मेरो खास जिवन सुरु गर्दैछु भन्दा तिम्रो आँखाबाट आँशु खस्छ वा झन भएको पे्रम पनि मरेर जान्छ त्यो मलाई थाहा छैन । तर तिमीले यो प्रयासलाई मेरो हिम्मत सम्झ वा दुस्साहास दुबै स्विकार्य छ तर सुरुवातमै यो बिन्ती गर्छु माया गर्दिनौ भने घृणा चाही नगर्नु है ।
माया गर्नेहरुका लाागी हर मौषम मायाले भरिएको हुन्छ भन्छन् त्यसैले मेरो पनि हर मौषम मायाले नै भरिएको छ किनकी म तिमीलाई प्रेम गर्छु खुशी । भलै तिमीलाई मैले गर्ने मायाको आभाष होला, नहोला । मायामा शुली चढ्नेहरुको दिन भनौ या मायामा खुशी भेट्नेहरुको दिन आजको दिन कुनै पनि हिसाबले अर्थपूर्ण रहन्छ खुशी । यही अर्थपूर्ण दिनलाई मैले आज मेरो प्रेमको बिजारोपण गर्ने दिनको पहिलो घडी सम्झेको छु । बीच समुन्द्रको छालहरुले तिम्रा यादहरु सात समुन्द्रपारीबाट हुत्याएर ल्याईदिन्छन् । अनि म मौनतामै आफ्नो प्रेम संचय गरेर राख्छु किनकी मायाको संसारमा मायाकै अभाब नहोस् भनेर ।
प्रिय खुशी मायाका भाबहरु कसरी सुरु हुन्छन् त्यो त मलाई थाहा नै छैन् अझै यो सम्म भनौ कि रोमियो जुलियट र लैला मज्नुका प्रेम अध्यताहरुले पनि ब्यक्त गर्न सकेनन् होला तर तिमी प्रति आज मेरो मनमा जुन प्रेमको बिजारोपण भएको छ नी त्यो बिजारोपणले अर्को रोमियो जुलियटलाई जन्म दिने भाबना प्रति प्रेरित गरेको महसुस गरेको छु । मेरो मनले त आज पनि के–के सोचीरहेको छ तिमी प्रति यो पत्र लेख्दै गर्दा । धेरै डर, थोरै खुशी, मुटुको कम्पनले लेख्ने औलाहरुको कम्पन पनि बढाईदिएको छ । शरीरमा रक्त सञ्चार अनि स्वाश पनि लामो लामो फेरीरहेको छु । अहिले म भएको पार्कमा जति पनि छन् सबै मायाका जोडीहरु छन् म त केबल एक्लो बर बनिरहेको छु तर मेरो साथमा तिम्रो याद यति हाबी भएको छ कि त्यो कुराको महसुस साथमै भएका प्रेमिल जोडीहरुले गर्न सकिरहेका छैनन् ।
आज म किन डराई रहेछु त्यो पनि थाहा नै छैन् खुशी । तिम्रो त नामै खुशी छ तिमी त सँधै खुशी रहन्छौ होला तर आज यो पत्र लेख्दै गर्दा तिमीसँग डराईरहेको यो मान्छे तिमी बिना एक धड्कनको पनि कल्पना गर्न सकिरहेको छैन् डियर । तिमीसँग कसरी नजिक भए म त्यो त तिमी आफै जान्नु किनकी मायाको अभाब मलाई थियो तर प्रभाव तिमीले पारेकी थियौ । तिमीले बोलेका हर शब्दमा मिठासको आभास मिल्छ । तिमीले चाल्ने हर पाईलामा गन्तब्यको लक्ष्य भेटिन्छ अनि तिमीले गर्ने हरब्यबहारमा आत्मियताको रारा अनि फेवा भेटिन्छ । तिमीले फेर्ने हर स्वासमा मैले मेरो जिवन भेटेको हुन्छु अनि तिमीले हास्ने हर मुस्कानमा मैले मेरो खुशी भेटेको हुन्छु । जब तिमी थोरै पनि निराश देख्छु मेरो मुटुमा बैशाख १२ चल्छ अनि त्यही बीचमा तिमी हासेर समिप आईदिन्छौ नि तब त्यो कालो बादल हटिदिन्छ र सफा भई दिन्छ सबै । अनि तिम्रो मुस्कानमा म पनि थोरै हासेर तिमीलाई थप खुशी देख्ने बाहानामा दाँत देखाईदिन्छु अनि तिमी नि मेरो दातको बयान गर्न शुरु गर्थौ नि है । भन त खुशी यो सबै कुरामा माया छ कि छैन ? प्रेम छ कि छैन ?
खुशी आज खै मलाई केही भएको महसुस गरिरहेको छु । शब्दहरु यतिधेरै छन् तर निकै अड्कलेर लेख्नुपरे जस्तो अनुभुति गरीरहेको छु । तिमीले मलाई घण्टौ कुरेर मेरो प्रतिक्षा गरेका ती दिनहरु याद गर त म तिम्रो सामु आईपुग्दा तिम्रो ओठमा कति खुशीको वर्षात सुरु हुन्थ्यो । नेपालमा राजनीतिक आन्दोलनले बन्द हुँदा गाडी चलेका थिएनन् तर तिमी घण्टौ लामो पैदलयात्रा गरेर खुट्टामा घाउ बनाएर भएपनि मलाई भेट्न आउँथ्यौ र बेलुका भन्ने गथ्र्यौ हेर त म तिमीलाई भेट्न आउँदा मेरो यो हालत भनेर घाउ देखाउँथ्यौ अनि म भन्थे किन आएको त हिडेर भन्दा तिमी हास्दै भन्ने गर्थौ तिम्रा लागी यो भन्दा ठुलो चोट सहन सक्छु भनेर । अनि म कति खुशी हुन्थे ।
खुशी ती पुराना दिनहरुलाई आज यो समुन्द्री किनारबाट फर्केर हेरिरहेको छु । मलाई तिमीले कुरेर बसेका ती दिनहरु सम्झिरहेछु । तिमीले पर्खेर बसीरहदा अनि म ढिला आउँदा किन ढिला आएको भन्दै गाली गर्दै एकछिन तिमी ठुस्कीदा मैले कान समाएर सरी भन्दा तिमीले मेरो नाक समाएर नट्टी ब्वाई भनेर मलाई माफी दिएर खिस्स हाँसेका ती दिनहरु आँखा वरीपरी घुमिरहन्छन् । चिसोको मौषमको बेला दुबै जना ईअर फोन लगाएर जाडोको मौसममा तिम्रै मखलरले कान छोपेर गीत सुनेर बसेका दिनहरु याद गर त डियर के त्यो माया थिएन ? के त्यो प्रेम थिएन ? हुनत् मैले तिमीलाई बुझन सकिन वा तिमीले मलाई हामीबीच यति धेरै माया हुँदा हँदै पनि हामी प्रेममा जान नसक्नु लाई के भनेर बुझौ म ?
प्रिय खुशी मलाई यो पत्र लेखिरहँदा एउटै कुराको चिन्ताले सताईरहेको छ । तिमीले यो मेरो प्रेमिल पत्र पढीसकेपछि तिम्रो प्रतिक्रिया के आउँनेछ भनेर । हुनत् मैले तिमीलाई ति दिनहरुमा पनि तिमी मेरो मात्रै हो है खुशी भनेर भन्थे तर तिमीले त्यो कुरालाई मैले जिस्क्याएको जस्तो ठानेर म त अरुकै हुँने हो भनेर भन्थ्यौ के तिमी साँच्चै अरुकै हुँने हौ ? यो प्रश्नले दिने उत्तरको ब्यग्र प्रतिक्षामा छु । मैले यो उत्तरको पर्खाई गरिरहँदा कतै तिमी अरु कसैसँगको सम्बन्धमा त छैनौ नि ? त्यो पनि मेरो अर्को ब्यग्र प्रतिक्षाको जवाफ हुनेछ खुशी । सायद यो पत्र तिम्रो नाममा पठाएपछि त मेरो निदहराम ब्रत सुरु हुन्छ होला । के गरु कसो गरुले गर्दा मेरो धड्कनको तिब्रताले मलाई मसानघाट नपु¥याउदै जवाफ देउ है खुशी ।
मायामा मान्छेहरु पागल हुन्छ्न रे, आँखा देख्दैनन् रे, अनि अरु के–के हुन्छ रे आज त्यो सबै मलाई भएको छ । तर म मायामा पागल भएपनि तिमीलाई पाउँन नसकेपनि तिमीलाई एसिड हान्न आउने पे्रमी बन्ने छैन खुशी । तिम्रो सुन्दरता र मौनतालाई मेरो मनको संग्राहलयमा संग्रहित गर्नेछु । तिम्रो सुन्दरता र चन्चलता नै मेरो आँखाका लागी न्याय हो खुशी । एउटा कुरा यत्ति याद गर्नु तिमीले फेर्ने स्वास मेरो जिवन हो त्यसैले म बाँच्नको लागी तिमी बाँच्नु पर्छ । तिमी नहुँदा मैले फेर्ने स्वासनै हँदैन खुशी ।
अन्त्यमा, फेरीपनि तिमीलाई मायाका सौगातहरु सुम्पिदै प्रेमले भरिएको यो दिन प्रेम गर्नेहरुको यो दिनको शुभकामना खुशी । चन्द्रमा जस्तो त्यो मुहारमा मेरो प्रेम पत्रले औशीको रात होईन् जिवनभरको साथको सुरुवात गरोस् ।
उहि तिमीलाई मात्र माया गरिरहने तिम्रो नट्टी ब्वाई,
बिजयराज अधिकारी,
भरतपुर–७, चितवन
हालः दोहा, कतार ।