काठमाडौं, माघ २५ –
नेपाली कांग्रेसको भातृ संस्था नेपाल सांस्कृतिक संघको दोश्रो महाधिवेशन प्रतिनिधि विवादका कारण अन्योलमा परेको छ। गत शुक्रबार प्रदर्शनीमार्गस्थित वाल्मिकी विद्यापीठमा पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गरेको महाधिवेशन प्रतिनिधि विवादका कारण अन्योलमा परेको हो।
आइतबार नै नेतृत्व चयन गर्ने योजना भए पनि पार्टीको गुटगत प्रभाव परेपछि महाधिवेशन विवादित भएको हो। संघका संस्थापक सभापति तीर्थ थापासहित तीन जनाले सभापतिमा उम्मेदवारी दिए पनि अधिकांश महाधिवेशन प्रतिनिधि जिल्ला फर्किसकेका छन्। ‘महाधिवेशन प्रतिनिधि धेरै जसो फर्किसकेका छन्’, पार्टीद्वारा गठित महाधिवेशन निर्देशक समिति सदस्य प्रदीप पौडेलले भने ‘अब सहमतिकै आधारमा नेतृत्व चयन गर्न हामीले प्रयास गरिरहेका छौँ।’ पार्टीले केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वमा केन्द्रीय सदस्य पौडेल र गुरुराज घिमिरे सदस्य रहेको तीन सदस्यीय निर्देशक समिति गठन गरेको थियो। निर्देशक समिति सदस्यबीच महाधिवेशन प्रतिनिधिको नामावलीलाई अन्तिम रुप दिने विषयमा सहमति हुन नसक्दा महाधिवेशन संकटमा परेको हो। नेतृत्व चयनको लागि सभापतिमा संस्थापक सभापति तीर्थ थापा, जनार्दन आचार्य र सुश्मा कार्कीले उम्मेदवारी दिएका छन्।
महामसचिवमा शिवशंकर रिजाल, दुर्गा रायामाझी लगायत रहेको जनजातिबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका अनिल श्रेष्ठले थाहाखबरलाई बताए। निर्वाचन समितिले संघको महाधिवेशनमा प्रतिनिधिको संख्या ९३१ रहेको सार्वजनिक भएपछि निर्देशक समिति सदस्य गुरुराज घिमिरेले असहमति जनाएका थिए। घिमिरेले १०० महाधिवेशन प्रतिनिधिको नाम केन्द्रीय समितिले मनोमानी ढंगले थपेको भन्दै आपत्ति जनाएपछि विवाद भएको थियो। घिमिरेका अनुसार महाधिवेशन प्रतिनिधिको संख्या ८६१ छ। मतदानमा जाने स्थिति नरहेकोले सर्वसम्मत प्रयास भइरहेको उनी बताउँछन्।
स्रोतका अनुसार विवादित १५० प्रतिनिधिमध्ये १०० जनाको नाममा असन्तुष्ट पक्षले सहमति जनाए पनि ५० महाधिवेशन प्रतिनिधिको नाममा विवाद भएको हो। सभापतिका उम्मेदवार तीर्थ थापालाई पार्टी सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौलाको समर्थन छ। सुश्मा कार्कीलाई नेता रामचन्द्र पौडेलको समर्थन छ। गत कात्तिक अन्तिम साता पोखरामा भएको नेपाल तरुण दलको महाधिवेशन सर्वसम्मत नेतृत्व चयन गर्न भन्दै एक साताभन्दा बढी लम्ब्याइएको थियो।