चितवन, माघ २५–
चितवनकै पुरानो धार्मिक सँस्था श्री कृष्ण प्रणामी मन्दिर टिकौलीले फागुनको पहिलो साता स्वर्ण महोत्सव मनाउने भएको छ ।
५१ वर्ष प्रवेशको अवसरमा मन्दिरले फागुन १ गतेदेखी ७ गते सम्म स्वर्ण महोत्सव मनाउन लागेको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । श्री कृष्ण प्रणामी मन्दिर २०२३ सालमा स्थापना भएको थियो । स्वर्ण महोत्सवको अवसरमा प्रवचन, पाठ पारायण, विभिन्न ज्ञानवद्र्धक कार्यक्रम गरिने मन्दिरका सचिव एवंम् स्वर्ण महोत्सव मुल समितिका महासचिव देवराज पराजुलीले जानकारी दिए । स्वर्ण महोत्सवको पहिलो दिन तारतम सागर पाठ पारायण प्रारम्भ हुनुका साथै उद्घाटन पनि हुने छ ।
त्यस्तै ६ गते सम्म प्रवचन, श्रीमद् भागवत कथा प्रवचन, भक्ति संगीत कार्यक्रमसहित विभिन्न ज्ञानवद्र्धक कार्यक्रम हुने महासचिव पराजुलीले बताए । फागुन ७ गते समापन कार्यक्रममा वाणी चर्चा, श्रीमद् भागवत पारायण पुर्णाहुती हुनेछ । कृष्ण प्रणामी धर्मका धर्माचार्य जगतगुरु आचार्य श्र १०८ कृष्णमणिजी महाराजश्रीको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा श्री १०८ अमृतराजजी महाराज, श्री १०८ सुर्यनारायणदास जी, श्री १०८ टहलकिशोरजी महाराजलगायत मठ मन्दिरका साधु सन्त, गुरुजन, लव्ध प्रतिष्ठित व्यक्ती, राष्ट्रिय कलाकारहरुको समेत सहभागीता रहने मुल समितिका संयोजक एवंम् मन्दिरका अध्यक्ष बद्रीप्रसाद ओलीले जानकारी दिए । स्वर्ण महोत्सवमा प्रति दिन एक लाख भक्तजनले पुण्य लाभ लिने अनुमान आयोजकको छ । पत्रकार सम्मेलनमा श्री कृष्ण प्रणामी सेवा समितिका केन्द्रिय उपाध्यक्ष श्याम कृष्ण शर्माले कृष्ण मन्दिर आन्तरिक धार्मिक पर्यटकको केन्द्र बनेको दावी गर्दै यसले समतामुलक समाज निर्माण हुने बताए । कृष्ण मन्दिर पुजापाठकमा मात्रै सिमित नभई ज्ञान वद्र्धक संस्थाको रुपमा पनि स्थापित भएको उपाध्यक्ष शर्माले बताए ।
सो अवसरमा प्रचार–प्रसार समितिका संयोजक मणिप्रसाद खतिवडाले स्वर्ण महोत्सवलाई सफल बनाउन देशका विभिन्न जिल्लामा रहेका कृष्ण प्रणामी मन्दिरमा आवद्ध व्यक्ती, विभिन्न संघसंस्थालाई पत्राचार गर्ने काम भईरहेको बताए । श्रीकृष्ण प्रणामी सेवा समितिमा चितवनमा ३ स्थानसहित १७६ स्थानमा कृष्ण मन्दिर छन् । चितवनमा मात्रै करिब एक हजार घरधुरी कृष्ण प्रणामी छन् । चितवनमा टिकौलीसहित जिरौनी र खैरहनीको बुढौलीमा कृष्ण मन्दिर रहेको छ ।