काठमाडौं, माघ १–
मलेसियाको क्वालालाम्पुरमा हुने मिसेस एसिया इन्टरनेशनल–२०१७ को प्रतियोगितामा नेपालबाट परिकल्पना राई सहभागी हुने भएकी छिन्।
यही जुनदेखि जुलाईसम्म लगातार एक महिना भन्दा लामो समय चल्ने प्रतियोगितामा नेपाल सहित ३५ वटा देशको सहभागिता रहने सो प्रतियोगितामा सहभागी हुन परिकल्पना राईलाई पठाउन लागिएको मिसेस एसिया इन्टरनेशनलका एसोसियट इभेन्ट म्यानेजर तथा रिबन इन्टरटेन्मेन्ट नेपालका प्रमुख निशुकान्त झाले बताए ।
मिसेस नेपाल इन्टरनेशनल २०१५ को सेकेन्ड रनर्सअपका साथ मस्ट क्रियटिभ र भिओर्स च्वाइस समेत रहेकी राईलाई नै उक्त प्रतियोगितामा पठाउने निर्णय गर्नुको कारणबारे प्रमुख झाले भने,“उनी धेरै तेजस्वी, ऊर्जावान, क्षमतावान र प्रतिभाशाली रहेका कारण पठाउन खोजिएको हो । उनी त्यो उपाधी चुम्नका लागि उपयुक्त पात्र हुन् । त्यसैले हाम्रो रोजाईमा परिकल्पना परिन ।’’
यो प्रतियोगितामा नेपालबाट पहिलो पटक सहभागिता हुन लागेको समेत झाले जानकारी दिए । उनले यस्तो प्रतियोगिताले नेपालको दुईपक्षीय सम्बन्ध, संस्कृति, रितीरिवाज, परम्परा र भाषालाई अन्तराष्ट्रिय क्षेत्रमा प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । प्रतियोगितामा सहभागी हुनु राईको लागि मात्र नभएर राष्ट्रकै लागि गौरव भएको झाको भनाई छ ।
उनले राईलाई मिसेस एसिया इन्टरनेशनलको उपाधी चुम्न शुभकामना समेत दिए ।