धर्मेन्द्र दाहाल,
हेटौँडा,माघ ४ –
अन्तत: सबै अन्योलताको बिच हेटौँडामा २५ मिटर फराकिलो पार्ने काम सुरु भएको छ । सरकारी कार्यालयमा डोजर चलेपछि हेटौँडामा सर्वाधिक चर्चामा रहेको २५ मिटर फराकिलो पार्ने अभियानको आज बिहानबाट थालनी भएको हो । आज बिहान हेटौँडा १० र १ को सिमानामा पर्ने राप्ती नदिबाट २५ मिटर क्षेत्रमा रहेका घरमा डोजर चलाईएको हो । आज मात्र एक दर्जन धेरै घरमा डोजर चलाईएको छ । विहान १० बजेबाट सडक भत्काउने काम स्थगित भयो भन्ने सूचना मकवानपुर उद्योग वाणिज्य संघले दिएपनि सडक डिभिजनले भत्काउने कामलाई २ बजेबाट पुन सुरु गरेको हो ।
मकवानपुर उद्योग वाणिज्य संघ, बसोबास संरक्षण समिति तथा मकवानपुरबाट प्रतिनिधित्व गर्ने राज्यमन्त्रीदेखी सांसदसम्मले घर भत्काउन नहुने बताएपनि सडक डिभिजन कार्यालय हेटौँडाले आजबाट आफ्नो कामलाई स्थगित गरेन् । सडक फराकिलो पार्ने काम सुरु भएपछि मकवानपुर उद्योग वाणिज्य संघको नेत्तृत्वमा प्रर्दशन समेत भएको थियो भने स्थानीय प्रशासनले ठुलो सङ्ख्यामा प्रहरी परिचालन समेत गरेको छ । खबरब्रेकलाई प्रतिक्रिया दिँदै डिभिजन सडक कार्यालय हेटौँडाका प्रवक्ता जयराम अधिकारीले आफुहरुलाई कतैबाट पनि सडक फराकिलो पार्न रोक्नु भनेर निर्देशन नआएको बताए ।
आफुहरु राज्यको नियम बमोजिम काम गर्दै गरेको उनको भनाई रहेको थियो । उता मध्यमाञ्चल क्षेत्रीय प्रशासक विनोद केसीले टेलीफोनमा भने ः सडक भत्काउने काम रोकियो या स्थगित भयो भन्ने कुरा निराधार हो, सडक फराकिलो पार्ने काम थप तिब्रताको साथ हुन्छ ।