काठमाण्डौ । कर्णाली प्रदेश सभाको अर्थ तथा प्राकृतिक स्रोत समितिका अध्यक्ष गणेश सिंह चढ्ने गाडीमा आगजानी भएको छ ।
अध्यक्ष चाडने कर्णाली प्रदेश ००१ झ ००४० नम्बरको सरकारी गाडी बिहीबार राति जाजरकोटको भेरी नगरपालिका–७, पुन्म गाउँमा पार्किङ गरेको अवस्थामा आगजानी भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डीएसपी किशोर श्रेष्ठले जानकारी दिए ।
गाडीमा आगो लगाइयो कि लाग्यो भन्ने अझै नखुलेको डीएसपी श्रेष्ठले बताए ‘आगो लागेपछि मात्र थाहा भएको स्थानीयले बताएका छन् । अहिले अनुसन्धानमै रहेको पनि श्रेष्ठले बताए ।
डीएसपी श्रेष्ठका अनुसार गाडीमा एक्कासी आगो लागेको देखेपछि सभापति सिंह र सुरक्षा टोलीलाई स्थानीयले जानकारी गराएका थिए । आगलागीबाट गाडी पूर्ण रुपमा क्षति भएको छ ।
बिहीबार राति भेरी नगरपालिका–७ का अध्यक्ष चन्द्रबहादुर शाहीको घर नजिकै गाडी राखेर अध्यक्ष सिंह त्यहाँ बास बसेका थिए । उनी योजना अनुगमनको क्रममा त्यहाँ गएको प्रहरीले जनाएको छ ।