बैशाख २३, काठमाडौं – माप्य दुधकोशी गाउँपालिका सोलुखुम्बुले काठमाडौंमा रहेका आफ्ना नागरिकलाई मंगलबार राहत वितरण गरेको छ ।
गाउँपालिकाको उद्धारकार्यपछि काठमाडौंमै बाँकि रहेका विद्यार्थी, ज्यालामजदूरी तथा आर्थिक रूपमा विपन्न परिवारलाई अतिआवश्यक खाद्य सामग्री चामल, दाल, तेल, नून वितरण गरेको वडा नम्बर १ का अध्यक्ष अगमकुमार राईले जानकारी दिएका छन् । वडा अध्यक्ष राईका अनुसार प्रतिपरिवार २५ केजी चामल, दाल दुई केजी, तेल एक लिटर र नून एक केजी वितरण गरिएको थियो । कोरोना भाइरसको प्रकोप फैलिन नदिन सरकारले लकडाउन लगाएपछि काठमाडौंमा रहेका माप्य दुधकोशीका जनतालाई केही दिन अघि गाउँपालिकाले उद्धार गरेर गाउँ लगेको थियो भने केही काठमाडौंमै रहेकालाई राहत बाडिएको हो ।
फोटो : प्रकाश खालिङ
वडा नम्बर एकका अध्यक्ष अगमकुमार राई तथा नेकपा जिल्ला कमिटी सोलुखुम्बुका सचिव गोम्बु शेर्पा ‘कर्ज्याङ’ को नेतृत्वमा काठमाडौंका विभिन्न ठाउँमा रहेका दुई सय घर परिवारलाई राहत वितरण गरिएको हो । कपन फैका, तिनचुली, छहारी क्लब जोरपाटी, तामाङ गुम्बा, लाहुरे टोल, हाती गौडा, भङ्गाल, भ्यालिपब्लिक स्कुल र धापासीमा रहेका परिवारलाई राहत बाडिएको थियोे । छुटेका बाँकी परिवारलाई भोलि पनि वितरण गरिने जनाइएको छ ।
राहत वितरणका लागि ‘पो:कम बङ्गुर फार्म’ का सन्चालक अम्बरबहादुर राईले निशुल्क गाडी उपलब्ध गराएका थिए ।