काठमाडौं, माघ २० –
खिम्ती ढल्केबर विद्युत प्रसारण लाइन बिहीबारबाट सञ्चालनमा आएको छ । दोलखाको खिम्तीमा पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २ सय २० केभीको खिम्ती ढल्केबर प्रसारण लाइनको उद्घाटन गर्नुभएको हो ।
प्रसारण लाइनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालकै पहिलो २ सय २० केभीको प्रसारण लाइनको उद्घाटन गर्न पाउनु हर्षको कुरा भएको र यो देशकै लागि महत्वपूर्ण भएको बताउनुभयो । उहाँले सबै विकासका आयोजना समयमै सम्पन्न गर्न र गुणस्तरीयताका लागि प्रतिस्पर्धा गरेमात्र देशको मुहार बदल्न सक्ने बताउनुभयो ।
यस्तै कार्यक्रममा उर्जामन्त्री जनार्दन शर्माले सरकारले सञ्चालन गरेको उज्यालो नेपाल अभियानले नागरिकमा उत्साह भरेको भन्दै यसले सकारात्मक परिणाम दिएको बताउनुभयो ।
२०६२ सालमा सुरु भएको आयोजना सम्पन्न गर्न १ अर्ब ९५ करोड रुपैयाँ लगानी भएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । प्रसारण लाइनमा ७ सय मेगावाटसम्म विजुली भारतबाट ल्याउन र नेपालबाट पठाउन सकिनेछ ।