बिकास पौडेल
चितवन, माघ २०–
चितवन प्रहरीले ६ जना जुवाडेलाई पक्राउ गरि कारबाही बिना नै छाडेको छ ।
पूर्वी चितवनको रत्ननगर–१४ माधवपुरबाट प्रहरीले बुधबार ६ जनालाई रंगेहात पक्राउ गरेको थियो । नगद १८ हजार ४ सय ८५ रुपैयाँ सहित पक्राउ परेकाहरुलाई कुनै कारबाही नै नगरी छाडिएको हो ।
ईलाका प्रहरी कार्यालय टाँडीले पक्राउ गरेको उनीहरुलाई एकरात हिरासतमा राखेर छोडेको हो । सानो रकम भएको र अर्को पटक पुनः भेटे कारबाही गरिने गरि उनिहरुलाई छाडिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दिपक थापाले जानकारी दिए । पटके भए मुद्दा दायर गिरि म्याद थप गर्न सजिलो हुने तर थोरै रकममा म्याद थप गर्न व्यवहारिक नहुने देखिएकाले छोडिएको थापाले बताए ।
जिल्ला सरकारी वकिल कार्यालय चितवनका प्रमुख मणिराम न्यौपानेले भने जति रकम भए पनि मुद्दा दायर गरेर म्याद थप गर्न सकिने बताए । उनीहरुबाट बरामद भएको रकमलाई प्रहरीद्वारा संचालित अनाथ बालबालिकाको संरक्षणको लागि संचालन गरेको पिटुसिटु कार्यक्रमलाई दिने स्रोतले जानकारी दिएको छ ।