Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
एमाले नेताहरु मधेसी जनताकै घरमा दुई साता होम स्टे बस्ने – Gaule Khabar

एमाले नेताहरु मधेसी जनताकै घरमा दुई साता होम स्टे बस्ने

एमाले नेताहरु मधेसी जनताकै घरमा दुई साता होम स्टे बस्ने

काठमाडौं, माघ २० –

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नेतृत्व दुई सातासम्म मधेसी जनताकै घरमा बास बस्ने (होमस्टे) भएको छ । आगामी २१ फागुनबाट सुरु हुने मेची–महाकाली राष्ट्रिय अभियानका क्रममा एमालेका सबै नेता–कार्यकर्ताको बास तराई–मधेसका जनताका घरमै हुने भएको हो ।

सत्तारूढ दलहरूले तराई–मधेसमा सार्वजनिक कार्यक्रमसमेत गर्न नदिने धम्की दिइरहेका बेला एमालेले आफ्नो सबै शक्ति लगाएर आगामी २१ फागुनमा झापाको काँकडभिट्टाबाट अभियान सुरु गरी कञ्चनपुरको महेन्द्रनगर हुँदै १५औं दिनमा सुर्खेतमा विशाल जनसभा गरी समापन गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।

अभियानका क्रममा तराई–मधेसका प्रमुख सहरमा आमसभासहित होमस्टे गर्ने व्यवस्था मिलाइएको एमाले सचिवालय सचिव प्रदीप ज्ञवालीले जनाए । मधेसमा सबै शक्ति एक भएर एमालेलाई रक्षात्मक बनाउन खोजेका कारण आगामी निर्वाचनमा बहुमतसहित तराई–मधेसको पहिलो शक्तिका रूपमा एमालेलाई स्थापित गर्ने उद्घोषका साथ मेची–महाकाली अभियान अघि बढाइने सचिव ज्ञवालीले बताए । दुईहप्ते अभियान राजमार्ग र राजमार्ग दक्षिण मधेसका जिल्ला सदरमुकाम तथा सहरहरूमा केन्द्रित हुनेछ । अभियानमा अध्यक्ष केपी शर्मा ओलीसहित मधेसी मूलका नेताहरू, सांसद, पूर्वसांसद र पूर्वमन्त्रीहरूलाई अनिवार्य सहभागिता गराइने एमालेले जनाएको छ ।

ज्ञवालीका अनुसार फागुन २१ गते मेचीको काँकडभिट्टाबाट सुरु हुने अभियानभर दुई सातासम्म ओलीसहित शीर्ष नेताहरू मधेसमै मुकाम बनाएर बस्नेछन् । होमस्टेकै शैलीमा नेताहरू मधेसी जनताको घरमा बस्ने सचिव ज्ञवालीको भनाइ छ । अध्यक्ष ओलीकै उपस्थितिमा बुधबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार अभियानका क्रममा पहिलो दिन २१ दमकका जनताको घरमा बास बस्ने कार्यक्रम रहेको छ । यस्तै, दोस्रो दिन इटहरीमा बास बस्नेछन । यस्तै, तेस्रो दिन सप्तरीको कञ्चनपुर, चौथो दिन सिरहाको गोलबजार, पाँचौं दिन महोत्तरीको बर्दिबास, छैटौं दिन रौतहटको चन्द्रनिगाहपुरका जनताका घरमा बास बस्ने कार्यक्रम तय भएको छ । यसैगरी, सातौं दिन हेटौंडा, आठौं दिन नवलपरासीको कावासोती, नवौं दिन बुटवल, १०औं दिन दाङको घोराही, ११औं दिन बर्दियाको गुलरिया, १२औं दिन कैलालीको लम्की, १३औं दिन महेन्द्रनगरका जनताको घरमा होमस्टे रहने एमालेले जनाएको छ । होमस्टेका क्रममा १ हजार नेता–कार्यकर्ताका लागि खाने–बस्ने व्यवस्था मिलाइएको एमालेको भनाइ छ ।

एमाले प्रचार विभागका प्रमुखसमेत रहेका सचिव योगेश भट्टराईका अनुसार अभियानका क्रममा तराई मधेसका सबै प्रमुख सहरमा आमसभा गरिनेछ । जसअनुसार भापाको बिर्तामोड र दमक, मोरङको विराटचोक र सुनसरीको इटहरी र इनरुवामा जनसभा गरिनेछ । यसैगरी, सप्तरीको राजविराज, कञ्चनपुर, सिरहाको गोलबजार, धनुषाको जनकपुर, महोत्तरीको बर्दिबास हँुदै हरिपुर, गरुडा, चन्द्रनिगाहपुर, बाराको जितपुर, हेटौंडा, चितवनको भण्डारा, भरतपुर र नवलपरासीको कावासोतीमा जनसभा गर्ने कार्यक्रम तय भएको सचिव भट्टराईले जनाए । यस्तै, भूमही, भैरहवा, बुटवल, चन्द्रौटा, लमही, घोराही, नेपालगन्ज, गुलरिया, राजापुर, टीकापुर, लम्की, धनगढी, महेन्द्रनगर र वीरेन्द्रनगर सुर्खेतमा जनसभा आयोजना गरिने एमालेले जनाएको छ ।

जनसभामा राजमार्ग आसपासका हजारौं जनता सहभागी गराउने सचिव भट्टराईले जनाए । अभियानका क्रममा सबै नेता–कार्यकर्ता परिचालित गर्ने घोषणा पनि एमालेले गरेको छ । जसअनुसार अभियान अवधिभर अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, अष्टलक्ष्मी शाक्य, ईश्वर पोखरेल, सुवास नेम्वाङ, छविलाल विश्वकर्मा, सत्यनारायण मण्डलसहित तराई–मधेसका केन्द्रीय कमिटी सदस्य तथा पूर्वसदस्यहरू, सांसद, पूर्वसांसद र पूर्वमन्त्रीहरू सहभागी हुनेछन् । यसैगरी, सबै प्रदेशका प्रमुखसहित पदाधिकारीहरूलाई आफ्नो प्रदेशको जिम्मा दिइएको छ ।

अभियानका क्रममा तराई–मधेसको प्रमुख पर्व होलीसमेत मधेसी जनतासँगै मनाउने भएको छ । त्यसबीचमा पर्ने अन्तर्राष्ट्रिय नारी दिवसलगायतका पर्वहरूसमेत एमालेले मधेसमै मनाउने भएको हो । बुधबार आयोजित पत्रकार सम्मेलनमा एमालेले २१ फागुनदेखि सुरु गर्न लागेको तराई–मधेसकेन्द्रित मेची–महाकाली राष्ट्रिय अभियानमा २५ लाख जनता परिचालन गर्ने महŒवाकांक्षी लक्ष्य सार्वजनिक गरेको छ । ‘यो अभियानमा कुनै एकजना पार्टी सदस्य पनि निष्क्रिय बस्नेछैनन् । जो यो अभियानमा सक्रिय हुँदैन, ऊ एमालेमा बस्न सक्दैन,’ पत्रकार सम्मेलनमा एमाले सचिवालय सचिव ज्ञवालीले भने । कार्यक्रममा अध्यक्ष ओलीले अरू कुनै निहुँ नपाएपछि एमालेलाई मधेसविरोधी भनेर जबर्जस्ती स्थापित गर्न खोजिए पनि यो अभियानले सत्य के हो भन्ने जनतालाई जानकारी गराउने बताए । अभियानले सामाजिक सद्भाव, संविधान कार्यान्वयन, राष्ट्रिय स्वाधीनता र समृद्धिको पक्षमा मधेसी जनतालाई परिचालन गर्ने उद्घोषसमेत ओलीले गरे ।

६ भाषामा अपिल प्रकाशन

अभियानका क्रममा एमालेले नेपाली, मैथिली, भोजपुरी, अवधि, थारू र डोट्याल भाषामा अपिल प्रकाशित गरी वितरण गर्ने योजनासमेत बनाएको छ । अभियानको अवधिभर सबै तहका पार्टी कमिटी तथा जनसंगठनहरूले जनताको घरदैलोमा अनिवार्य रूपमा पुगेर उनीहरूले बुझ्ने मातृभाषामा प्रकाशित अपिल बाँड्नेछन् । यसक्रममा पार्टी प्रवेश र रचनात्मक क्रियाकलाप हुनेछन् । सामाजिक कामका साथै विकास निर्माणका काममा समेत एमाले नेता–कार्यकर्ताले अभियानका क्रममा श्रमदान गर्नेछन् । मधेसमा एमालेको सरकारले विनियोजन गरेको बजेट कार्यन्वयनका लागि यही अभियानमा दबाब दिने र कतिपय आयोजना शिलान्यास तथा उद्घाटन गर्ने कार्यक्रमसमेत बनाएको छ । यस्तै, अभियानका क्रममा राष्ट्रिय झन्डासहित सामाजिक सद्भाव झल्किने विभिन्न सामग्रीको प्रयोग गरिनेछ । राजधानी दैनिकमा खबर छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ