Gaule Khabar
आइतवार, साउन २९, २०७९
Gaule Entertainment Media Group Pvt.Ltd.

३ हजार लिटर घरेलु मदिरा नष्ट, स्थानीय व्यापारी असन्तुष्ट

  • admin
  • बुधबार, मंसिर २९, २०७३
३ हजार लिटर घरेलु मदिरा नष्ट, स्थानीय व्यापारी असन्तुष्ट

रुकुम, मंसिर २९–

जिल्ला प्रहरी कार्यालय रुकुम घरेलु मदिरा नष्ट गर्ने अभियानमा जुटेको छ। जिल्ला प्रशासन कार्यालय रुकुममा भएको सर्वपक्षीय निर्णय अनुसार अवैध घरेलु मदिरा बिक्री वितरण गर्न रोक्का लगाउने उदेश्यका साथ जिल्लाका विभिन्न बजार केन्द्रहरुबाट उत्पादित मदिरा नियन्त्रणमा दिएर नष्ट गर्दै आएको छ।  अभियान थालिएसँगै जिल्लाका विभिन्न ठाउँहरुबाट करिब ३ हजार ३ सय ६५ लिटर बढी घरेलु अवैध मदिरा नियन्त्रणमा लिई नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी निरीक्षक थमन बहादुर रजाँलीले जानकारी दिए। उनका अनुसार यो जिल्लाको रुकुमकोट, मुसिकोट, सोलाबाङ, सिम्ली, खोलागाउँ, चौरजहारी लगायतका बजार केन्द्रबाट बिक्री वितरणका लागि राखिएको मदिरा होटलबाट नियन्त्रणमा लिएर नष्ट गरिएको हो।

प्रहरीका अनुसार अवैध मदिरा नष्ट गर्ने अब निरन्तर जारी रहने छ। यसैबीच प्रहरीले पछिल्लो समयमा धमाधम अवैध मदिरा नष्ट गर्न थालेपछि स्थानीयहरु असन्तुष्ट बनेका छन्।  मंसिर ६ गतेदेखि रुकुम प्रहरीले घरेलु मदिरा नष्ट गर्ने अभियान थालेसँगै स्थानीय स्तरका राजनैतिक दल नेता कार्यकर्ता तथा होटल व्यवसायी सहितका सरोकारवाला निकायहरुले विदेशी मदिरा लाइसेन्सको व्यवस्था गरेर बिक्री वितरण गर्ने व्यवस्था भएको भन्दै घरेलु मदिरालाई पनि लाइसेन्सको व्यवस्था गरेर बिक्री वितरणका लागि व्यवस्था हुनुपर्ने माग समेत राखेका छन्।  नेकपा माओवादी केन्द्र जिल्ला सम्मेलन आयोजक समिति सदस्य तिलक शर्माले घरेलु मदिरा नष्ट गर्नुभन्दा कानुनको दायरामा ल्याई त्यसको पनि सहज बिक्री वितरण गर्न आवश्यक रहेको बताए। गाउँघरका गरिब निमुखा जनताहरुको आयआर्जनको स्रोतसँग समेत उक्त उत्पादन जोडिएको कारण केही प्रकृयागत ब्यवस्था गर्नुपर्ने बताए।

  त्यस्तै, रुकुम खोला गाउँका होटल व्यापारी वीरेन्द्र बीसीले सरकारले ठुला करोडौँका मदिरा कम्पनीहरुलाई मदिरा बिक्री वितरणका लागि अनुमति दिएको भएपनि साना घरेलु मदिरा उत्पादन गर्नेको हकमा त्यस्ता कानुन लागु नहुँदा स्थानीय व्यापारीहरु मारमा परेको बताए।  प्रहरी निरीक्षक रजाँलीले आफुहरुले कानुन बनाउने नभई हाल प्रचलनमा रहेको कानुनको पालना र कार्यान्वयन गर्ने मात्र भएका कारण प्रहरीले कानुन अनुसार घरेलु अवैध मदिरा नष्ट गर्ने अभियानमा लागेको बताए। त्यसका लागि राजनैतिक दल तथा सरोकारवाला निकायहरुले सरकारलाई आवश्यक नीति बनाउन दबाव दिनुपर्ने उनको भनाइ रहेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ